[ चिन्तन क्षेत्री / खगेन्द्र अधिकारी ]
काठमाडौं, सुर्खेत:= प्रदेश नम्बर १ मा गठबन्धनको सरकार निर्माण भएको छ । नेकपा एमालेले एकल बहुमत जोगाउन नसकेपछि प्रदेश नम्बर १ मा गठबन्धनले सरकार बनाएको हो । गठबन्धनका तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारीले राईलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मुख्यमन्त्रीको शपथ गराउनुभयो । प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई पद तथा गोपनीयता शपथ गराउनुभएको हो ।
नेकपा एमाले विभाजनको समयमा सरकार जोगाउन शेरधन राईले राजीनामा दिँदै भीम आचार्य मुख्यमन्त्री नियुक्त भए पनि एमालेले बहुमत जोगाउन सकेन । एमाले विभाजनपछि केही सांसदहरू विभाजित पार्टीमा गएपछि एमालेको एकल बहुमत गुमेको हो । अहिले देशभरि नै एमालेबाहेकका राजनीतिक शक्तिहरू एक भएकाले एमालेलाई सरकार जोगाउन समस्या देखिएको हो । यसअघि संघसँगै गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सरकार गुमाएको एमाले अब संघ र प्रदेशमा प्रमुख प्रतिपक्षीका रूपमा रहेको छ । ०७४ को निर्वाचनमा पहिलो पार्टी भएर संघ र चार प्रदेशमा सरकारको नेतृत्व गरिरहेको एमालेले पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थापन गर्न नसक्दा प्रतिपक्षमा बस्नुपरेको हो ।
प्रदेश नम्बर १ मा मंगलबार नै मन्त्रिमण्डल पनि विस्तार भएको छ । मुख्यमन्त्री राईसँगै चारजना मन्त्री र एकजना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो, भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की, आन्तरिक मामिला मन्त्री केदार कार्की र सामाजिक विकास मन्त्री जयराम यादव रहनुभएको छ । उहाँहरूलाई प्रदेश प्रमुख अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । यस्तै, सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।
नवनियुक्त मन्त्रीहरूमा नेपाली कांग्रेसबाट हिमाल कार्की र केदार कार्की मन्त्री बन्नुभएको छ । यस्तै, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्वो र जनता समाजवादीका जयराम यादव मन्त्री बन्नुभएको छ । विष्णु तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मन्त्री बन्नुभएको हो ।
प्रदेश नामकरण पहिलो काम : राई
नवनियुक्त मुख्यमन्त्री राईले आफ्नो कार्यकालको पहिलो काम प्रदेशको नाम राख्ने भएको बताउनुभएको छ । शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अहिलेसम्म पनि प्रदेशले नाम पाउन नसकेको अवस्थामा अब आफ्नो सरकारले नाम राख्ने कामलाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशले अहिलेसम्म नाम पाउन नसकेकाले त्यो नाम हामी दिन्छौँ । बजेट सानो भएकोले विकासको कामहरू हुन सकेको छैन । अनुदान लिएर र बजेटका नयाँ स्रोतहरू खोजेर बजेटको दायरा बढाएर कामलाई अघि बढाउँछौँ ।’
उहाँले विश्वासको मत पाएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने बताउनुभएको छ । राईले कात्तिक २३ गते बस्ने प्रदेशसभा बैठकमा मत लिने तर त्यो दिन सम्भव नभए कात्तिक २५ वा २६ गतेसम्ममा विश्वासको मत लिने बताउनुभयो । उहाँले मन्त्रालयको संख्या बढाउने संकेतसमेत गर्नुभयो । आवश्यकताका आधारमा केही संख्या बढाएर विस्तार हुने मुख्यमन्त्री राईले बताउनुभएको छ ।
कर्णालीमा शाही नयाँ मुख्यमन्त्री
कर्णाली प्रदेशले पनि नयाँ मुख्यमन्त्री पाएको छ । महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कर्णालीमा नेपाली कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्नुभएको हो । गठबन्धनका तर्फबाट शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
शाहीलाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २१ जना सांसदहरूले समर्थन गर्नुभएको थियो । शाहीलाई कांग्रेसका ६, माओवादी केन्द्रका १२ र एकीकृत समाजवादीका तीन गरी २१ सांसदले समर्थन गर्नुभएको हो ।
यसअघि, कर्णालीमा दुई मन्त्रालय पाएको कांग्रेसले अहिले निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग भएको सहमतिअनुसार मुख्यमन्त्री पाएको हो । तत्कालीन समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता भंग भएपछि अल्पमतमा पर्नुभएका महेन्द्रबहादुर शाहीको पद जोगाउन कांग्रेसले साथ दिएको थियो । सोही समयमा नै मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको थियो । शाही नेतृत्वको सरकारमा कांग्रेस र माओवादीले दुई तथा एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालय पाएको थियो । वर्तमान सरकारमा सहभागी कसलाई गराउने र कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने विषयको टुंगो भने लागेको छैन ।
यद्यपि, विन्दमान विष्ट, ठम्मर विष्ट, कृष्णा शाहको नाम अहिले चर्चामा रहेको छ । एकीकृत समाजवादीबाट बढीमा दुईजना मन्त्री बन्ने सम्भावना रहेको छ । कांग्रेसले अब एक मन्त्रालय मात्रै पाउन सक्ने सम्भावना रहेको छ । जसमा हिमबहादुर शाहीको नाम चर्चामा छ । उहाँ कांग्रेसका सचेतक हुनुहुन्छ । हाल कायम ३५ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि १८ मत आवश्यक पर्दछ ।




















