[ श्याम कार्की ]
रौतहट:= सत्तारूढ साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट फर्किएलगत्तै न्यायालयको समस्या समाधान हुने बताउनुभएको छ ।
गृहजिल्ला रौतहट आउनुभएका अध्यक्ष नेपालले चन्द्रनिगाहपुरमा पत्रकारहरूसँग कुरा गर्दै सर्वोच्च अदालतको विवादका विषयमा गठबन्धनमा अहिलेसम्म छलफल नभएको तर प्रधानमन्त्री देउवा विदेश भ्रमणबाट फर्किएपछि सबै बसेर छलफलपश्चात् निकास दिने बताउनुभयो । निष्पक्ष न्यायालयमा कसैले पनि धेरै हस्तक्षेप गर्न नहुनेमा जोड दिँदै उहाँले सर्वोच्च अदालतकै कारणले संविधान र संसद्को रक्षा भएको जिकिर गर्नुभयो ।
पत्रकार सम्मेलनमै अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई एक नम्बरको गफाडीको संज्ञा दिँदै ओलीको भर नपर्न आग्रह गर्नुभयो । उहाँले ओलीले गफ दिनेबाहेक अरू केही काम गर्न नसकेको पनि आरोप लगाउनुभयो । ओलीले पानीजहाज, रेल, पाइपबाट घरघरमा ग्यासको गफ दिए पनि एउटा पनि पूरा गर्न नसकेको बताउँदै उहाँले पानीजहाजको टिकट काट्न भनेकोमा सो मिति टरिसकेकाले टिकट काटेको भए पैसा फिर्ता लिन सुझाव दिनुभयो । ‘घरघरमा ग्यासको चुलो चलिरहेको देखिरहनु भएको छ’ केपी ओली लक्षित व्यंग्य गर्दै उहाँले भन्नुभयो, ‘पानीजहाजको टिकट काट्नुभएको होला हैन? कसले लिनुभयो टिकट ? पैसा फिर्ता लिनुभयो कि भएन ?’
उहाँले ओलीको महतवाकांक्षा र घमण्डले गर्दा देशमा अहिले भाँडभैलौ मच्चिएको आरोप लगाउँदै ओली देशकै लागि अभिशाप भएको जिकिर गर्नुभयो । पत्रकारहरूसँगको कुराकानीमा अधिकांश समय ओलीको आलोचनामा खर्चिंदै अहिले देशमा देखिएका सबै समस्याको जड नै ओली नै रहेको आरोप लगाउनुभयो ।
उहाँले केपी ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको निवास बालुवाटारमा हेलिप्याड, राष्ट्रपतिको निवासमा हेलिप्याड, झापा जिल्लामा अर्बौंको टावर निर्माण गरेर राष्ट्रिय ढुकुटी सिध्याएको आरोप लगाउँदै बिनास्रोत एकैदिन १६५ बढी अस्पतालको शिलान्यास गरेर ओलीले तमासा गरेको जिकिर गर्नुभयो ।
कुनै पनि अवस्थामा ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको जनाउँदै उहाँले चुनावसम्म अहिलेको पाँचदलीय गठबन्धन रहने विश्वास व्यक्त गर्नुभयो । सबैको सहमति भएमा सकेसम्म चुनावमा पनि सकेजति तालमेल हुनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ । ‘पूरै उम्मेदवारको हकमा चुनावी तालेमेल मिलाउन सक्दा सबैभन्दा राम्रो’ उहाँले भन्नुभयो, ‘आधा मिलाउन सक्दा त्यो पनि राम्रो । हामी सबै विकल्पको लागि तयार छौँ ।’ नेकपा एकीकृत समाजवादी गठन गरेपछि अध्यक्ष नेपाल पहिलोपटक गृहजिल्ला रौतहट आउनुभएको हो ।




















