सिगासमा बाढीको बितण्डा : लालपुर्जाको जमिनमाथि सेतीको राज।

[  कृष्ण बिष्ट ] 

बैतडी:= बैतडीको सिगास गाउँपालिका–५ लामबगडकी दुर्गादेवी धामीको खेतमाथिबाट सेती नदी बगिरहेको छ । पुस्तौँदेखि भोगचलन गर्दै आएको खेत आधा बगरमा परिणत भएको छ भने आधा खेतमा नदी सुसाइरहेको छ ।

‘पाँच रोपनी खेतमाथि नदी बगेको छ, आधा बगरमा परिणत भयो, मलीन मुहार गर्दै उहाँले भन्नुभयो, ‘परिवार केले पाल्ने चिन्ता छ ।’ अर्का स्थानीय गजेन्द्रबहादुर धामीले पनि सेती नदी बगिरहेको स्थानतर्फ औँला तेस्र्याउँदै भन्नुभयो, ‘ऊ… त्यही ठाउँमा तीन रोपनीको खेत थियो । अहिले तहसनहस भयो । केही बाँकी छैन ।’

असोज ३१ गतेदेखि लगातार तीन दिन परेको वर्षाले बैतडीको सिगास गाउँपालिकाका स्थानीयले ठूलो क्षति व्यहोर्नुपरेको छ । सेती नदीले वडा न ५, ६ र ७ का स्थानीयहरूको घरखेत बगरमा परिणत गरिदिएको हो । वडा नं ५ को ढुङ्गाड, लामबगड, टुणी बगर चुने जबत, हरडाखानी, लोडे, वडा नं ६ को लेकम, नाकरा, त्यसैगरी सेतनी नदीले वडा नं ७ को बोरीलगायत क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

सिगास गाउँपालिकाका अधिकांश नदी किनारका बस्तीमा घरहरू भत्किनुका साथै खेत बगाएको छ । सेती तर्ने दुईवटा पुलहरू पनि बगाएको छ । स्थानीय अहिले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले स्थलगत अनुगमन भइरहेकाले तथ्यांक संकलनको काम जारी नै रहेको बताउनुभयो । यही कात्तिक १३ गतेदेखि जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्थलगत अनुगमन गरिरहेकाले अनुगमन सकिएलगत्तै तथ्यांक सार्वजनिक गरिने उहाँको भनाइ छ । पालिकाबाट पीडितहरूको माग सम्बोधन गर्न सकिने स्थानमा कार्यापालिकाबाट निर्णय गरेर सहयोग गर्ने र पालिकाबाट सम्बोधन हुन नसक्ने मागहरू प्रदेश र संघीय सरकारमार्फत सम्बोधनको लागि पहल गरिने पालिका अध्यक्ष धामीले बताउनुभयो ।

यस वर्षको बाढी अहिलेसम्मकै उच्च रहेको यहाँका स्थानीयहरूले बताएका छन् । ‘२०४१ र २०५७ सालमा पनि ठूलो बाढी आएको थियो, तर, यस वर्षको जति क्षति पुर्‍याएको थिएन ।’ अर्का स्थानीय जोगासिंह त्रामीले भन्नुभयो, ‘यस वर्षको बेमौसमी वर्षाले अकल्पनीय क्षति पुर्‍यायो ।’

ढुङ्गाडमा भने बस्ती नै उच्च जोखिममा छन् । कटान गरेर बस्तीतर्फ नदी पसेपछि उच्च जोखिममा परेको हो । उक्त क्षेत्रका बासिन्दाहरूले बस्ती स्थानान्तरण गर्नुपर्ने नभए पक्की तटबन्धको व्यवस्था हुनुपर्ने माग राखेका छन् । असार साउनको वर्षाको समयमा सेती नदी सजिलै बस्तीमा आउन सक्ने भएकाले समयमै तटबन्धको व्यवस्था हुनुपर्ने स्थानीय राम चुनाराले बताउनुभयो ।