एजेन्सी (न्यूयोर्क) := अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलोपटक अन्तरिक्षमा भेडे खुर्सानी फलाएको छ । प्लान्ट हृयाबिटाट-०४ मा फलाएको भेडे खुर्सानीलाई अन्तरिक्ष यात्रीहरूले स्वादिलो परिकार बनाएर खाएका छन् । नासाका अनुसार त्यो भेडेखुर्सानी न्यू मेक्सिकोको सान्डिया खुर्सानी र अन्य प्रजाति मिसाएर बनाइएको हो ।
अन्तरिक्षमा यसलाई फलाउनु निक्कै चुनौतीपूर्ण भएको जनाएको छ । नासाकी अन्तरिक्ष यात्री मेगन म्याकआर्थरले भेडे खुर्सानी भाँचेको अनि त्यसको डिनर बनाएर खाएको तस्वीर सार्वजनिक गर्नुभएको छ ।
भेडे खुर्सानीको कम पिरो हुने खुर्सानीलाई कहिलेकाहीँ गुलियो खुर्सानी पनि भन्ने गरिन्छ । भारतमा यो खुर्सानीलाई शिमला मिर्च भनिन्छ । भेडे खुर्सानीको उत्पति स्थल मेक्सिको, मध्य अमेरिका र उत्तरी दक्षिण अमेरिका हो ।
यस खुर्सानीको बिउलाई सन् १४९३ मा स्पेन भित्र्याइएको थियो र त्यसपछि यसको खेती युरोप र एसियामा सुरु गरिएको हो । अहिलो यो अन्तरिक्षमा समेत फलेको छ । भेडे खुर्सानीको बिरुवा फष्टाउन न्यानो वातावरण, पानीदार माटो आवश्यक पर्दछ । यो खुर्सानी स्वास्थ्यको दृष्टिकोणले निक्कै फाइदाजनक मानिन्छ ।




















