एजेन्सी (टोकियो): = जापानको सत्तारुढ पार्टीले आइतबार भएको आमचुनावमा एकल बहुमत प्राप्त गरेको छ । महिना दिनअघिमात्रै सत्तामा आउनसभएका प्रधानमन्त्री फुमिओ किशिदाका लागि चुनावी नतिजा ठूलो जितका रूपमा लिइएको छ । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले तल्लो सदनका बहुमतका लागि चाहिने २३३ भन्दा बढी सिटमा जित हासिल गरेको छ । यसको अर्थ कोमिइतो पार्टीसँग गठबन्धन नगरी एलडीपीले सत्ता चलाउन पाउने भएको छ ।
लामो समयदेखि प्रधानमन्त्रीको होडमा रहनुभएका किशिदाले सन् २०१२ देखि २०१७ सम्म जापानको विदेशमन्त्रीको रूपमा काम गर्नुभएको थियो । ६४ वर्षका किशिदा यो अक्टोबरको सुरुमा सत्तारुढ पार्टी एलडीपीको नेता बन्नुभएको थियो । एलडीपीले दशकौंदेखि जापानमा सत्ता सञ्चालन गर्दै आएको छ । तर, कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि गरेको प्रयासलाई लिएर आलोचना भएको थियो ।
योशिहिदे सुगाले गएको सेप्टेम्बरमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाँ एक वर्षमात्रै सत्तामा रहनुभयो । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला पनि टोकियो ओलम्पिक गरेको भन्दै सुगाको आलोचना भएको थियो ।
तल्लो सदनका ४६५ मध्ये २७६ सिटमा कायम रहेको एलडीपी बहुमतको अपेक्षासहित आइतबारको चुनावमा गएको थियो । मतपरिणाम आउँदा एलडीपीले २६१ सिटमा जित हासिल गरेको हो । कोमिइतो पार्टीले ३२ सिटमा जित हासिल गरेको छ । यसको अर्थ गठबन्धनसँग २९३ सिट भएको छ ।




















