काठमाडौं:= नेपाली यू-२३ राष्ट्रिय फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोटमा सबै खेलमा पराजित हुँदै बाहिरिएको छ। छनोटको समूह ‘बी’ मा आइतबार राति नेपाल लेबनानसँग ४-० गोलअन्तरले पराजित भएको थियो । योसँगै लगातार तेस्रो हार बेहोरेर नेपाल बाहिरिएको हो ।
पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोर्यो । लेबनानका लागि जेइन फरानले २ तथा मोहमद नासिर र मोहमद हेइदरले १/१ गोल गर्नुभयो । खेलको २६औं मिनेटमा फरानको गोलबाट लेबनानले सुरुवाती अग्रता लिएको थियो ।
४७औं मिनेटमा जेइन फरानले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । खेलको ७४औं मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३-० ले अघि बढ्यो । त्यसपछि खेलको ८२औं मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४-० को जित दिलाउनुभयो ।
राष्ट्रिय टोलीका ६ खेलाडी सामेल भए पनि नेपाल यसपटक जितविहीन हुँदै बाहिरियो । पहिलो खेलमा इरानसँग ४-० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० को हार बेहोरेको थियो ।
समूहअन्तर्गत बिहीबारको अर्को खेलमा इरानले लेबनानलाई २-० ले पराजित गरेको थियो । पहिलो खेलमा ताजिकिस्तानसँग १-० ले पराजित लेबनानको पनि छनोट हुने सम्भावना यसअघि नै सकिएको थियो । इरान र ताजिकिस्तानको ६-६ अंक हुँदा लेबनानले तीन अंकसाथ छनोट अन्त्य गर्यो । नेपालले भने अंकको खाता खोल्न सकेन ।
नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो । प्रतियोगिताको पाँचांै संस्करणमा आइपुग्दा इराक, जापान, उज्वेकिस्तान र दक्षिण कोरियाले एक÷एक पटक उपाधि जितेका छन् ।
एक महिनादेखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा नियमित प्रशिक्षण गरेर नेपाली टोलीलाई ताजकिस्तान पठाएको थियो । एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको थियो ।
समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।




















