कर्णाली := कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ । सोमबार साँझ प्रदेशवासीका नाममा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो।
आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेससँगको पूर्व–सहमतिअनुसार शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो । गएको वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत दिँदा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुभएको हो ।
राजीनामा दिँदै उहाँले प्रदेश सरकारले आफ्नो कार्यकालमा गरेका प्रगतिहरू सुनाउनुभएको थियो । उहाँले ११३ वटा मन्त्रिपरिषद्को बैठकले ६९३ वटा जनपक्षीय निर्णयहरू गरेको सुनाउनुभयो । पूर्व–सहमतिअनुसार आफूले पदबाट राजीनामा दिएको उहाँको भनाइ छ ।
०७४ माघ २५ गते नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकबाट दल नेतामा निर्वाचित हुनुभएका शाही वाम गठबन्धनको समर्थनमा २०७४ फागुन ३ गते कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बन्नुभएको थियो ।
मुख्यमन्त्रीको राजीनामासँगै कर्णाली प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसको हातमा पुगेको छ । अब नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नुहुनेछ ।
४० सदस्यीय कर्णाली प्रदेशसभा हाल ३५ सदस्यमा खुम्चिएको छ । माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी, एमालेबाट निर्वाचित प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको सांसद पद गुमेको छ । प्रदेशसभामा नेकपा एमालेका (सभामुख राजबहादुर शाही) सहित १३ सांसद छन् ।
त्यस्तै, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, नेकपा एकीकृत समाजवादीका तीन र राप्रपाको एक सांसद छन् । गठबन्धनको बलमा ६ सिट जितेको कांग्रेसले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ । कर्णालीमा १८ जना सांसदको समर्थनमा सरकारले बहुमत पाउँछ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नयाँ सरकार गठन गर्नेछन् ।




















