[ डिबी शर्मा / खगेन्द्र अधिकारी ]
काठमाडौं:= एक साताको अन्तरमा नेकपा एमाले नेतृत्वका दुई प्रदेश सरकार ढलेका छन् । सोमबार एमाले नेतृत्वको प्रदेश १ सरकार ढलेको हो । पाँच दिनअघि बागमती प्रदेश सरकार ढलेको थियो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिनुभएको छ । प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित भएपछि उहाँले राजीनामा दिनुभएको हो ।
सोमबारको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको थियो । घोषणालगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामा दिनुभयो । यसअघि एमालेकै शेरधन राई नेतृत्वले एमाले विभाजन रोक्न भन्दै राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बन्नुभएको थियो । तर, उहाँ मुख्यमन्त्री बनेलगत्तै एमाले विभाजन भएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो ।
तत्कालीन नेकपा विवाद र एमालेमा विवाद हुँदा संस्थापनइतर समूहमा लाग्नुभएका आचार्य एमाले विभाजनको अन्तिम घडीमा मुख्यमन्त्री बन्ने लोभमा एमालेमै रहन राजी हुनुभएको थियो । तर, सत्ता सम्हालेको दुई महिनामै उहाँले बहिर्गमनको बाटो रोज्नुप¥यो । बागमतीको अवस्थामा पनि प्रदेश १ कै अवस्थामा एमाले सरकार ढलेको थियो ।
बागमतीमा पनि अष्टलक्ष्मी शाक्य दुईमहिने सत्ता स्वाद चाखेर बाहिरिनुभयो । आचार्य र शाक्यको सत्तारोहण र बहिर्गमन एकनासले भयो । बागमतीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुभएको छ भने प्रदेश १ मा पनि नेकपा (एस)कै राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने हुनुभएको छ।
दलहरू मिलेर जानुको विकल्प छैन : आचार्य
प्रदेश १ का निवर्तमान मुख्यमन्त्री आचार्यले दलहरू मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार राजीनामाअघि प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उहाँले टुटफुट भएर अगाडि जान खोज्नु लोकतान्त्रिक प्रणालीभित्र नपर्ने दाबी गर्नुभयो । अहिलेको अवस्थामा दलहरू मिलेर जानुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
उहाँले कामको चापले पहिल्यै विश्वासको मत लिन नपाएको दाबीसमेत गर्नुभयो । ‘कामको चापले पहिल्यै विश्वासको मत लिन पाइनँ,’ प्रदेशसभा बैठकमा उहाँले भन्नुभयो, ‘अर्ति उपदेश र जुवारी जरुरी छैन, लडाइँ झगडा गरेर प्राप्त गर्ने कुरा छैन ।’
आफ्नो सरकारमाथि भएको आलोचनालाई सकारात्मक रूपमा लिने भन्दै आचार्यले आगामी सरकारलाई कामका आधारमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थापनमा ध्यान केन्द्रित गरेर काम गरेको उहाँले जिकिर गर्नुभयो । आफूले राजनीतिक अस्थिरताका वावजुद पनि अघिल्लो सरकारले अघि बढाएका कामलाई निरन्तरता दिएको दाबी गर्नुभयो ।
राजेन्द्र राई आज मुख्यमन्त्री बन्दै
प्रदेश १ का विपक्षी गठबन्धनमा आबद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । विपक्षी गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको हो ।
नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकजना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।
सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिनुभएको थियो । अब मंगलबार साँझ राई मुख्यमन्त्रीमा नियुक्त हुनुहुनेछ । मंगलबार सानो आकारको मन्त्रिमण्डल बनाउने गठबन्धनको तयारी छ ।
पाँच महिनामै सत्ताबाट सडकमा एमाले
प्रदेश १ सरकारको बहिर्गमनसँगै एमाले अब संघ र प्रदेशमा पूर्णरूपमा प्रतिपक्षी दल भएको छ । एमाले नेतृत्वको अन्तिम प्रदेश १ सरकारको बहिर्गमनसँगै एमाले नेतृत्वका चार प्रदेश सरकार ढलेका छन् । सर्वोच्च अदालतको परमादेशपछि एमाले नेतृत्वको संघीय सरकार ढलेको थियो ।
यसअघि गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व गुमाइसकेको छ । यी चारवटै प्रदेशमा एमाले एक्लै बहुमतको सरकार बनेका थिए । एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको विवादपछिको विभाजन तथा त्यसपछि एमालेको माधवकुमार नेपाल समूहले छुट्टै पार्टी गठन गरेपछि केन्द्रदेखि प्रदेशमा समेत ठूलो दलका रूपमा रहे पनि सत्ताबाट बाहिरिन बाध्य भएको हो । केन्द्रदेखि सबै प्रदेशमा एमालेले सरकार गुमाउनुका पछाडिको एक मात्रै कारण हो पार्टीभित्रै विवाद र एमाले विभाजन ।
०७४ को प्रदेश र प्रतिनिधिसभामा एकल बहुमत ल्याएको प्रदेश १ र बागमती प्रदेशमा पनि एमालेले आफ्नो सरकार जोगाउन सकेन । तत्कालीन नेकपा र पछि एमालेको विवादले एमाले संघीय सरकारदेखि सबै प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिने क्रम भने गण्डकी प्रदेशबाट सुरु भएको थियो । जेठ २७ गते पहिलोपटक एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको थियो ।
जेठ २७ गते गण्डकी प्रदेश सरकार, असार २९ गते संघीय सरकार, साउन २७ गते लुम्बिनी सरकार, कात्तिक १० गते बागमती सरकार र कात्तिक १५ मा प्रदेश १ सरकारबाट एमाले बाहिरिएको हो । २०७४ सालमा संघीय सरकार र चार प्रदेश सरकारको नेतृत्व गरेको एमाले पछिल्ला पाँच महिनामै दुई तहका सत्ताबाट बाहिएको हो । संघीय सरकारदेखि प्रदेश सरकारसम्म प्रतिपक्षमा धकेलिएको एमाले स्थानीय तहमा भने बलियो छ ।
अहिले संघीयसहित सातै प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार छ । जसअनुसार प्रदेश २ मा जसपा, गण्डकीमा कांग्रेस, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा माओवादी नेतृत्वको सरकार छ । त्यस्तै, बागमती र प्रदेश १ मा अब नेकपा एसको सरकार हुने भएको छ । कर्णालीमा भने पूर्व-सहमतिअनुरूप माओवादीले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने तयारी छ ।




















