[ चिन्तन क्षेत्री/पुरण साह ]
काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसदेखि गठबन्धनमा रहेका अन्य दलका नेताहरूको चर्को आलोचना गर्नुभएको छ।
एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेस, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सभामुख अग्निप्रसाद सापकोटालगायत नेताको चर्को आलोचना गर्नुभएको हो।
अध्यक्ष ओलीले नेपाललाई एमाले फुटाएर नयाँ पार्टी बनाएको प्रति टिप्पणी गर्नुहुँदै टोपी बोकेर देशभरि कुद्दैमा केही पनि फरक नपर्ने बताउनुभयो । माधव नेपाल पार्टीका कार्यक्रममा सहभागी हुन विभिन्न जिल्ला भ्रमणमा रहनुभएको प्रति लक्षित गर्नुहुँदै उहाँले देशभरि कुदिरहेको देख्दा आफूलाई माया लागेर आउने गरेको बताउनुभयो । कहिले पोखरा, कहिले धरान किन कुदे होला ? भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो।
उहाँले भन्नुभयो, ‘कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बागलुङ, हातमा टोपी लिएर कुदिरहेका छन् । उनी देश बनाउन होइन, एमाले बिगार्न कुदिरहेका छन्।’
ओलीले कम्युनिष्ट पार्टी जन्मिनेबित्तिकै राणा शासकहरूले मार्न खोजे पनि नसकेको उल्लेख गर्नुहुँदै माधव नेपालले केही गर्न नसक्ने बताउनुभयो । नेता नेपाललाई बुढेसकालमा घरमा बसेर आराम गर्न सल्लाह दिनुहुँदै आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा गरेका काम देखेर नेपालको मन भतभती पोलेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘कोभिडका बेला विकास अभियान चलाएको देखेर उनलाई औडाहा भयो २१० वटा सडक र ३९६ वटा अस्पताल शिलान्यास गर्यौँ । त्यसैले भतभती पोलेको छ माधव नेपाललाई । त्यही रिसले उनले एमालेका दुई चार प्वाँख काटेर हिँडेका छन्।’
‘सभामुख संसदीय प्रणालीका कलंक’
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामाथि ओली आक्रामक देखिुनभएको छ । विगत लामो समयदेखि सभामुख सापकोटाको आलोचना गर्दै आउनुभएका ओलीले शनिबार सम्बोधनका क्रममा सभामुखलाई संसद्को कलंकको संज्ञा दिनुभयो । नेकपा एमालेले कारबाही सिफारिस गरेका नेपाललगायत १४ जना सांसदहरूको कारबाही सदर नभएको भन्दै उहाँले सभामुख सापकोटामाथि आक्रोश पोख्नुभएको हो।
उहाँले संवैधानिक परिषद्को तत्कालीन समयमा बैठक बहिष्कार गरेकोप्रति असन्तुष्टि जनाउनुभयो। सभामुख प्रचण्डको इसारामा एमालेविरुद्ध षड्यन्त्र बुन्दै बसेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘अग्नि सापकोटा जस्ता संसद्का कलंकले निर्वाचित भएर संसद्मा पाइलो टेक्नुहुँदैन । उनको कुनै मर्यादा छैन । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’को इसारामा एमालेविरुद्धको षड्यन्त्रमा लागेका छन्।’




















