विप्लव समूहसँगको सहमति कानुनी प्रक्रियाबाटै कार्यान्वयन गर्छौं: गृहमन्त्री खाँण।

काठमाडौं:= कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द विप्लवसँग अघिल्लोे सरकारले गत फागुनमा गरेका निर्णय कार्यान्वयन गर्ने बताउनुभएको छ । शनिबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाँणले अघिल्लो सरकारको निर्णयको निरन्तरतास्वरूप त्यसलाई कार्यान्वयन गरेर जाने बताउनुभयो ।

सरकार मुलुकमा शान्ति र स्थायित्व होस् भन्ने पक्षमा रहेको र चन्द समूह पनि संवैधानिक प्रक्रियाबाटै राष्ट्रिय राजनीतिको मूलधारमा समाहित हुनुपर्ने उहाँले बताउनुभयो । खाँणले चन्द समूहलाई लक्षित गर्दै सबै शक्तिले संविधानको अपनत्व लिनुपर्ने बताउनुभयो ।

‘पूर्ववर्ती सरकारले गरेका सहमति अहिलेको सरकारको पनि सहमति र निरन्तरता हो, पहिले र अहिले भन्ने हुँदैन, उहाँहरूसँग सरकारले बन्दी रिहा र मुद्दा फिर्तासहित तीनबुँदे सहमति गरिसकेको छ,’ खाँणले भन्नुभयो, ‘सरकारसँग भएका सहमति कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्रीसँग एकपटक र मसँग चारपटक कुराकानी भइसकेको छ, हामीले यो विषय कानुनी रूपबाटै समाधान होस् भन्ने चाहेका छौँ ।’

चन्द समूहसहित सबै शक्ति मूलधारको राजनीतिमा समाहित हुनुपर्छ भन्ने आफूहरूको चाहना रहेको उहाँले बताउनुभयो । खाँणको यस भनाइले चन्द समूहसँग सरकार अझै सशंकित रहेको देखिन्छ । सहमति कार्यान्वयनका लागि चन्द समूहले नेता खड्गबहादुर विश्वकर्मालाई वार्ताका लागि संयोजक तोकेको छ ।

पछिल्लोपटक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालयका सचिव र महान्यायाधिवक्तासमेत बसेर मुद्दा मामिला र बन्दी रिहाइबारे सरकारले विवरण अद्यावधिक गरिरहेको खाँणले जानकारी दिनुभयो ।

२०७५ फागुन २८ मा केपी शर्मा ओली नेतृत्वको सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको ठीक दुई वर्षपछि २०७७ फागुन २१ मा सरकार–चन्द समूहबीच तीनबुँदे सहमति भयो । सरकारले थुनामा रहेका उसका नेता÷कार्यकर्ता रिहा र मुद्दा फिर्ता गर्ने लिखित सम्झौता गरेको थियो ।

यसैगरी, खाँणले काठमाडौं प्रहरी परिसर प्रमुखको सरुवा प्रधानमन्त्रीको निर्देशनअनुसार नै रोकिएको बताउनुभयो । ‘एसएसपीहरू अशोक सिंह र सुदीप गिरीको सरुवा प्रधानमन्त्रीको निर्देशनअनुसार नै रोकिएको हो’, उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्रीको निर्देशनअनुसार नै चल्ने भएकाले उहाँको निर्देशन मानेको हुँ ।

उहाँलाई पार्टी सभापतिसमेत बनाउन लागिरहेकाले उहाँको निर्देशनबाहिर जाने कुरै भएन ।’ उहाँले उक्त प्रकरणलाई लिएर आफ्नो र प्रधानमन्त्रीबीच कुनै किसिमको विवाद नभएको पनि स्पष्ट पार्नुभएको छ । गृहमन्त्री खाँणले नेपाल प्रहरीमा डिआइजी र एसएसपी दरबन्दी थपिने पनि बताउनुभयो ।