काठमाडौं:= नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेतृत्वलाई पदमा दोहर्याउन नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा बौल्दै नेता सिंहले अवसर पाउँदा पनि काम नगर्ने नेतृत्व दोहर्याए पार्टीलाई झनै क्षति हुने भन्दै यस्तो बताउनुभएको हो ।
उहाँले १३औं महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । पटक-पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पूरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था झनै बिग्रने उहाँको भनाइ थियो ।
साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायम रहेको बताउँदै विधि र नियमपूर्वक समाधान गर्नुपर्ने बताउनुभयो । १४औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रूपमा लिनुपर्ने उहाँको भनाइ थियो । अर्को प्रसंगमा उहाँले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावनाअनुसार नै समाधान गर्नुपर्नेसमेत बताउनुभयो ।
नेता सिंहले केही जिल्लामा अझै क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै विधि र नियमपूर्वक समाधान गर्नुपर्नेमा जोडसमेत दिनुभयो । साथै उहाँले मुख्य चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेललगायतको मूल्यवृद्धि गरेर गल्ती गरेको बताउनुभयो ।
युवा नेता एवं नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समतिका सभापति बाबुराम आचार्यले नेपाली कांग्रेसको १४औँ महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने र कांग्रेसमा भएको गुटबन्दी अन्त्य नभए कांग्रेस बलियो नहुने हुँदा उक्त गुटबन्दी हटाउँदै कांग्रेस बलियो बनाउने अभियानमा लाग्न नेता प्रकाशमान सिंहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ, क्षेत्रीय सभापति प्रकाशविक्रम राणालगायत नेताहरूको उपस्थिति थियो ।




















