काठमाडौं:= भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले विकास निर्माणका काम तोकिएको समयमा नै गुणस्तरीयरूपमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबारको भेटमा उहाँले निर्माण उद्योगलाई समृद्ध बनाउन सम्बन्धित निकायहरू आ-आफ्नो कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । निर्माण व्यवसायीलाई काम दिइने पुरानो परिपाटीमा सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवसमक्ष निर्माण व्यवसायीका समसामयिक समस्या र समाधानका सम्बन्धमा ध्यानाकर्षण गराएको छ । प्रतिनिधिमण्डले हाल संसद्मा संशोधनका लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाका रूपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँंग सम्बन्धित कानुनहरू निर्माणमैत्री हुने गरी संशोधन गरिनुपर्ने माग गरेको छ।
प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, बैंक क्रेडिटलाइन खारेजी, बिमाशुल्क वृद्धिलगायतका विषयमा लिखित सुझाव दिएको महासंघले जनाएको छ । हाल संघीय, प्रदेश र स्थानीय सरकारअन्तर्गतका निकायले सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्देशिकाविपरीत आफूखुसी क्राइटेरियामा निश्चित मापदण्डमा आर्थिक मिलेमतो गरी आफू अनुकूल हुने गरी राखिएको भन्दै त्यस्ता शर्तको अन्त्य गर्न संघीय सरकारले तत्काल सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने महासंघको माग रहेको छ ।




















