झापा:= झापाको भद्रपुर-गलगलिया सीमा नाका करिब २० महिनापछि सहज भएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीले लामो समयदेखि बन्द राखिएको भद्रपुर-गलगलिया सीमा नेपाल सरकारले एक महिनाअघि खुल्ला गर्ने निर्णय गरेको थियो ।
तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश नआएको भन्दै सो सीमा नाका बन्द राखेका थिए । भारतीय एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबारदेखि नाका सहज गरेको हो । भारतीय एसएसबीले डबल खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र नेपाली नागरिकताको आधारमा भारत प्रवेश गर्ने अनुमति दिएको छ ।
एसएसबीले सीमा हेल्थ डेस्क राखेर पैदलयात्रीलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाइएको छ । हाल दुई पांग्रे र चार पांग्रे सवारीसाधनलाई प्रवेश गर्न अनुमति नदिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय झापाले गत असोज १५ गते जिल्लाका सबै नाका खोल्ने निर्णय गरेको थियो । असोज १६ गते नै भद्रपुर सीमा नाकामा हेल्थ डेस्क राख्ने भद्रपुर नगरपालिका तयार भइसकेको थियो । तर, भारतीय पक्षले नमानेपछि सीमा हेल्थ डेस्क त्यस बेला राखिएन ।
भारतीय पक्षले नाका सहज बनाए पनि सोमबार बिहान भद्रपुर नगरपालिकाले स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क नराख्दा मेची पुलमा दुवै देशका नागरिकलाई नेपालतर्फका सुरक्षाकर्मीले रोकेर राखेका थिए । नगरपालिकाले हेल्थ डेस्क राखेपछि मेची पुलमा रोकिएर राखिएका सर्वसाधारणलाई प्रवेश गर्न दिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिनुभयो ।
हेल्थ डेस्कमा दुवै देशका नागरिकलाई खोप कार्ड, पिसिआर रिपोर्ट, नागरिकता, मतदाता परिचयपत्र देखाए मात्र आवतजावत गर्ने दिने उहाँले बताउनुभयो । अहिले काम विशेषले भारत जाने र आउनेलाई सहज बनाएको बताउँदै उहाँले भन्नुभयो, घरायसी किनमेल, निजी सवारी साधनमाथि पूर्ण रूपमा रोक लगाइएको छ ।
यता, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नाका सहज भएको बारेमा जानकारी गराएसँगै एकजना स्वास्थ्यकर्मी परिचालन गरी हेल्थ डेस्क राखिसकेको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले बताउनुभयो । सरकारले भद्रपुर नाकामा ३७ करोड लागतमा मेची पुल बनाएको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि सीमा नाका सञ्चालनमा नआउँदा यहाँका जनताले मेची पुलको उपयोग गर्नबाट पनि वञ्चित हुनुपरेको थियो । नाका बन्द हुँदा भद्रपुरलगायत दक्षिण भेगका बासिन्दा काँकडभिट्टा भएर भारत जानुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।




















