शाहरूख खानका छोरा आर्यनलाई जमानतमा छोड्न आदेश।

मुम्बई:= लागुऔषध मुद्दामा पक्राउ पर्नुभएका बलिउड सुपरस्टार शाहरूख खानका छोरा आर्यन खानलाई मुम्बई उच्च अदालतले जमानत दिन स्वीकार गरेका छन । आर्यनका साथै मुनमुन धमिचा र अरबाज मर्चेंटले पनि जमानत पाउनुभएको हो।

तर, उहाँहरूलाई रिहा भने गरिएको छैन । तीनैजनाले भोलि वा पर्सिसम्म आर्थर जेलमै बस्नुपर्नेछ । बिहीबार मुम्बई उच्च अदालतमा जमानतमा सुनुवाइ भएको थियो । जसमा आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को तर्फबाट वकालत गर्नुभएको थियो। अनिलले आर्यन र अरबाजले निरन्तर रूपमा ड्रग्स लिएको आरोप लगाउनुभएको थियो ।

अक्टोबर ३ मा मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक पार्टीमा छापा मारेर आर्यनसहित अन्य सातजनालाई एनसीबीले पक्राउ गरेको थियो । छापाबाट एनसीबीले १३ ग्राम कोकेन, २१ ग्राम चरेस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो ।

आर्यनसँग सेल्फी लिने गोसावी पक्राउ

आर्यन खानमाथि चलिरहेको लागूऔषध मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीपी) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी पुलिसले पक्राउ गरेको छ । किरण गोसावी निजी (स्वघोषित) जासुस हुन् र आर्यन खान मामिलामा एनसीबीले उनलाई स्वतन्त्र साक्षी बनाएको थियो । गोसावीलाई पुणे प्रहरीले सन् २०१८ को एक ठगी मुद्दामा पक्राउ गरेको हो ।

आर्यन खानसँग किरण गोसावीले सेल्फी लिँदै गरेका तस्वीर भाइरल बनेको थियो । आर्यन पक्राउ परेपछि त्यो तस्वीर थियो। त्यस तस्वीरपछि उनी गुमनामजस्तै बनेका थिए । यसपछि यस मामिलामा उनको भूमिकालाई लिएर कयौं प्रश्नहरू उठेका थिए। एनसीबीको छापाको उनको उपस्थितिमा धेरैको प्रश्न थियो । पछि उनले उत्तर प्रदेशमा रहेको र उनले यूपी प्रहरीसमक्ष आत्मसमर्पण गर्ने समाचार पनि बाहिर आएको थियो ।

बुधबार उनी पुणे पुगेको र मुम्बईमा एनसीबी अधिकारीहरू समक्ष उपस्थित हुने समाचार एजेन्सीलाई बताइएको थियो । पुणे प्रहरीका कमिस्नरका अनुसार पुणे प्रहरीको क्राइम बान्चले उनलाई बिहीबार बिहान मुम्बई जानअघि पक्राउ गरेको हो । सन् २९ मे, २०१८ मा फरास्खाना प्रहरी स्टेसनमा उनीविरुद्ध चिन्मय देशमुखले एफआइआर दर्ता गरेको प्रहरीको भनाइ छ।

एफआइआर अनुसार गोसावीले सामाजिक सञ्जालमा एक होटल म्यानेजमेन्टको जागिरका लागि विज्ञापन पोष्ट गरेका थिए। देशमुख जागिरका लागि सम्पर्कमा आएका थिए ।किरणले देशमुखसँग मलेसियामा जागिर लगाइदिने भन्दै खातामा ३.०९ लाख भारतीय रुपैयाँ ट्रान्सफर गर्न लगाएको आरोप छ ।

किरणले पैसा त लिए तर देशमुखले जागिर पाएनन् । जब उनले पैसा फिर्ता पाएनन्, उनले प्रहरीमा उजुरी दर्ता गरे । किरणविरुद्ध थप तीनवटा ठगी उजुरी दर्ता भएको पनि बताइएको छ । सन् २००७ र २०१५ देखि २०१७ मा ती उजुरीहरू दर्ता भएको बताइएको छ ।