महेन्द्रनगर:= नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू र आफ्नो पार्टीले गफ दिन नजानेको भन्दै ओलीप्रति व्यंग्य गर्नुभएको छ । बिहीबार नेकपा एकीकृत समाजवादी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको जिल्लास्तरीय विस्तारित बैठक र जिल्ला पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी ओलीको जस्तो गफाडी होइनौँ, हामी गफ नदिएर काम गरेर देखाउँछौँ ।’ ओलीले पानीजहाज, घरघरमा ग्यास लाइन, पूर्व–पश्चिम रेल चलाउने जस्ता नक्कली कुरा गरेर जनतालाई झुक्याएको आरोप लगाउँदै अध्यक्ष नेपालले आफूहरूले गफमा नभई काम गरेर देखाउने बताउनुभयो।
‘ओलीले पानीजहाज, रेल, ग्यास लाइन जस्ता नक्कली कुरा गरेर जनतालाई ढाँटे ।’ अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी कुरा नभई काममा विश्वास गर्ने भएकाले नेकपा एकीकृत समाजवादी पार्टीले काम गरेर देखाउने ।’ ओलीलाई आफूले पटक-पटक सुधार्न खोज्दा पनि नसुधे्रको उहाँले तर्क गर्नुभयो । ‘अहिले ओलीले बाटो बिराएका छन् ।’ उहाँले भन्नुभयो, ‘हामीले पटक-पटक उहाँलाई सुधार्न खोज्यौँ तर उहाँको आफूलाई सबैभन्दा, पार्टीभन्दा, देशभन्दा ठूलो हुँ भन्ने सोचले आज हामीले उहाँसँग विद्रोह गर्नुप¥यो ।’ उहाँ अगाडि भन्नुहुन्छ, ‘पार्टीको विधि, पद्धति, नीतिनियम र देशको संविधानलाई समेत उहाँले नमान्दा हामीले नेकपा एकीकृत समाजवादी स्थापना गरेका हौँ।’
प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धनमा छलफल भएको छैन : नेपाल
बिहीबार नै धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पार्नुभएको छ । उहाँले आफू निरन्तर काठमाडौंबाहिर रहेको र नेताहरू पनि व्यस्त रहेका कारण पाँच दलको बैठकसमेत बस्न नसकेको उल्लेख गर्नुभयो।
अध्यक्ष नेपालले ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गर्दै आउनुभएको आरोप लगाउनुभयो । ओलीले रिस साँध्नका लागि सबै न्यायाधीशहरूलाई हटाउनुपर्छ भन्ने कुरा उठाएको उहाँले बताउनुभयो । ओलीको हस्तक्षेपकारी भूमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उहाँको भनाइ छ।




















