बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त।

हेटौंडा:= बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले बिहीबार प्रदेश प्रमुख शर्मासमक्ष पद तथा गोपनीयताको शपथसमेत लिनुभयो । मुख्यमन्त्री पाण्डेसँगै भौतिक पूर्वाधारमन्त्रीको रूपमा नेपाली कांग्रेसका कृष्णलाल भँडेलले पनि शपथ लिनुभएको छ ।

यस्तै, सामाजिक विकासमन्त्रीको रूपमा नेकपा (माओवादी केन्द्र)की कुमारी मोक्तान र आन्तरिक मामिला तथा कानुनमन्त्रीको रूपमा नेकपा (एकीकृत समाजवादी)का कृष्णप्रसाद शर्मा खनालले पनि शपथ लिनुभयो ।

बुधबार मुख्यमन्त्री पदबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डे मुख्यमन्त्री बन्नुभएको हो। पाण्डेलाई गठबन्धनमा आबद्ध दलहरूका ५९ सांसदको समर्थन छ । १०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ ।

मेरो कार्यकाल भ्रष्टाचाररहित हुनेछ : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचाररहित बनाउने बताउनुभयो । मुख्यमन्त्रीको शपथपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री पाण्डेले निश्चित ‘सिष्टम’ बनाएर सुशासन दिने कोसिस गर्ने बताउनुभयो ।

आफ्नो सरकारले समाजवादउन्मुख कार्यक्रम अघि सारेर सर्वहारा, श्रमजीवी, मजदुर किसान तथा गरिब जनताको पक्षमा काम गर्ने उहाँले बताउनुभयो । अल्पमतमा परिसकेपछि अघिल्लो सरकारको गलत काम र रकमसम्बन्धी निर्णय गरेको भए त्यो निर्णय उल्ट्याउने उहाँको भनाइ छ ।

‘मेरो कार्यकाल भ्रष्टाचाररहित कार्यकाल हुनेछ । सुशासन दिने कोसिस गर्छौँ,’ उहाँले भन्नुभयो, ‘एउटा निश्चित सिष्टम बनाएर जनताले रोखेका कुरालाई समयमै समाधान दिन्छौँ । सर्वहारा, श्रमजीवी, गरिब जनताका पक्षमा कार्यक्रम अघि सार्छौँ । आवश्यक परे पूरक बजेटको रूपमा ल्याउन पनि सकिन्छ ।’

वैशाखपछि कांग्रेसको पालो !

नेकपा (एस) र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुरूप पाण्डे मुख्यमन्त्री बन्नुभएको छ । अर्थात् प्रदेशसभाको बाँकी कार्यकालको आधा अवधि मात्रै पाण्डेले सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछि सरकारकोे नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति दुई दलबीच भएको छ । प्रदेशसभाको कार्यकाल झण्डै १४ महिना बाँकी छ । अर्थात् पाण्डे करिब सात महिना बागमतीको मुख्यमन्त्री बन्नुहुनेछ ।

वैशाखपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने गठबन्धनको भित्री सहमति छ । कांग्रेस नेताहरूले आलोपालो सहमति भएको बताउने गरे पनि स्वयं नेकपा (एस)का नेताहरूले भने यसबारे खुलेर बोल्दैनन् । केही दिनअघि यही संवादतादासँगको कुराकानीमा नेता पाण्डेले आलोपालो सहमतिबारे अनभिज्ञता प्रकट गर्नुभएको थियो ।

पूरै कार्यकाल आफैँले नेतृत्व गर्ने घुमाउरो दाबी उहाँको थियो । बिहीबार पनि उहाँले आलोपालोबारे खुलेर बोल्नुभएन । गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेको भन्दै ‘माथि जे निर्णय हुन्छ, त्यहीअनुसार अघि बढ्ने’ भनेर घुमाउरो कुरा गर्नुभयो ।

सातपटक जेल, शिक्षकदेखि मुख्यमन्त्रीसम्मको यात्रा

बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएका पाण्डे गत निर्वाचनमा धादिङ क्षेत्र नम्बर १(क) मा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । विसं. २०१३ साल जेठ २९ गते धादिङको गजुरी–२ मा जन्मिनुभएका पाण्डेले ७ पटक जेलजीवन बिताउनुभयो । २०३२ सालमा सरस्वती क्याम्पसबाट विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा होमिनुभएका पाण्डे ०३३ सालमा केन्द्रीय कारागार जेल कमिटीको सदस्य तथा कोकेको सदस्य बन्नुभयो । २०३४ सालमा प्रथम भ्याली अर्गनाइजिङ कमिटीको सदस्य, २०४२ सालको पुसपछि २०४७ पुससम्म नेकपा (माले) धादिङको जिल्ला कमिटी सदस्य बन्नुभएको थियो ।

२०४७ साल पुसदेखि २०५२ सम्म नेकपा एमालेको धादिङको जिल्ला सचिव, २०५० वैशाख २० देखि २०५४ सम्म अञ्चल कमिटी सचिव, २०५५ मंसिर ५ गतेदेखि २०६५ सालसम्म एमालेको केन्द्रीय सदस्य, २०६५ सालदेखि २०७४ सालसम्म एमालेको पोलिटब्युरो सदस्य, २०७४ सालदेखि २०७८ भाद्र ९ गतेसम्म नेकपा र नेकपा एमालेको केन्द्रीय सदस्य हुँदै २०७८ भाद्र ९ गतेदेखि नेकपा एकीकृत समाजवादीको प्रथम उपाध्यक्ष र बागमती प्रदेशको संसदीय दलको नेतामा चयन हुनुभयो । अहिले उहाँ नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

पाण्डेले यसअघि २०४४ मा जनपक्षीय धादिङ जिल्ला पञ्चायत सभापति निर्वाचित हुनुभएका पाण्डे २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट लगातार तीनपटक निर्वाचत हुनुभयो ।

२०५१, २०५३ सालसम्म सचेतक र २०५३ देखि २०५५ सम्म प्रमुख सचेतकसमेत हुनुभयो । २०६३ जेष्ठ ८ गते देखि २०६३ चैत १८ गतेसम्म स्थानीय विकासमन्त्री, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट धादिङ क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनमा भने उहाँ माओवादीका उम्मेदवारसँग पराजित हुनुभयो । पाण्डेले अमेरिका, चीन, इटली, जापान, जर्मन, स्विजरल्याण्ड, बेलायतलगायत दर्जन बढी देशको भ्रमण गर्नुभएको छ । ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएका पाण्डे सुरुमा शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो ।