अध्यक्ष मिश्रको ‘मार्ग परिवर्तन’ दस्तावेज दुईतिहाइबाट पारित
[ चिन्तन क्षेत्री ]
काठमाडौं:= एकताको एक वर्ष नबित्दै विवेकशील साझा पार्टी अन्ततः फेरि विभाजनको औपचारिक प्रक्रियामा अगाडि बढेको छ । गत भदौदेखि नै पार्टीमा दुई पक्षीय अभ्यासको सुरुवात गरेको विवेकशील साझा अहिले कठिन अवस्थामा पुगेको छ । बिहीबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले बहुमतको निर्णय गर्दै संयोजक मिलन पाण्डे पक्षलाई पेलेरै अगाडि बढेपछि विवाद विभाजनको अवस्थामा पुगेको हो ।
पार्टीका अध्यक्ष मिश्रले २१ साउन २०७८ मा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्तावेज सार्वजनिक गरेपछि विवाद देखिएको थियो। अहिले मिश्र पक्षले सो दस्तावेजलाई पारित गरेसँगै पार्टी विभाजननजिक पुगेको हो । मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेज केन्द्रीय समितिको दुईतिहाइ बहुमतबाट बिहीबार पारित भएको दाबी गरेको छ । संघीयता खारेजी र धर्म निरपेक्षतामाथि जनमतसंग्रह गर्ने अध्यक्ष मिश्रको प्रस्ताव पारित भएको प्रवक्ता शरदराज पाठकले बताउनुभयो ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । बैठकमा संयोजक पाण्डे पक्षका सदस्यहरू अनुपस्थित थिए । प्रवक्ता पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहलाई पुनःसंरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन् ।’
मिश्रलाई कार्यकारी भूमिका
रवीन्द्र मिश्रले पार्टीमा कार्यकारी भूमिका पाउनुभएको छ । यसअघि अध्यक्ष र संयोजक दुवैको सहमतिमा बैठक बोलाउने निर्णय गर्नेगरी व्यवस्था भएको विधानलाई संशोधन गर्दै अध्यक्षलाई कार्यकारी भूमिका दिइएको हो । पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले मिश्रलाई कार्यकारी भूमिका दिइएको प्रवक्ता पाठकले बताउनुभयो ।
यसगअघि गत साउन अन्तिम साता मिश्रको दस्तावेज आएको आठ दिनपछि काउण्टर प्रस्ताव अघि सारेका संयोजक पाण्डे पक्षले भने मिश्र पार्टी विभाजनमा लागेको आरोप लगाएको छ। त्यतिबेला संयोजक मिलन पाण्डे, सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले अध्यक्ष ‘उल्टो बाटो हिँडेको’ भन्दै काउण्टर प्रस्ताव अघि सार्नुभएको थियो । संयोजक पाण्डे पार्टी फुटको औपचारिक घोषणा मिश्रबाट भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मिश्रजीले पार्टी फुटाए । यो वैकल्पिक राजनीतिलाई अगाडि बढाउने मामिलामा ठूलो धक्का हो ।’
यसैगरी, पाण्डे पक्षले मिश्रलाई कारबाही गर्ने तयारी पनि गरेको छ । जसका लागि शुक्रबार बैठक बोलाइएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकबाट रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोध्ने एजेण्डा तय भएको छ । पाण्डे पक्षका एक नेताले भन्नुभयो, ‘अध्यक्षलाई स्पष्टीकरण सोध्छौँ । उहाँले पार्टीको विधान मिच्नुभएको छ । वैचारिक रूपमै धोका दिनुभयो । स्पष्टीकरण सोधेर उहाँलाई कारबाही गर्ने तयारी भएको छ।’आफूहरूले पार्टी महाधिवेशनबाट विवाद समाधानको मार्ग तयार गर्न प्रस्ताव गरे पनि मिश्रले गलत बाटो अंगालेको आरोप पाण्डे पक्षले लगाएको छ ।




















