विवेकशीलका रवीन्द्र मिश्र पक्षद्वारा ‘मार्ग परिवर्तन’,संघीयता र धर्मनिरपेक्ष विरुद्ध लाग्ने।

काठमाडौं:= विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेज केन्द्रीय समितिको दुई–तिहाइ बहुमतबाट पारित भएको बताइएको छ ।

संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्ने अध्यक्ष मिश्रको प्रस्ताव पारित भएको प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गरेर बताउनु भएको हो ।

बैठकमा संयोजक मिलन पाण्डे पक्षका सदस्यहरु भने उपस्थित थिएनन् । पाण्डे पक्षले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रुपमा अघि बढ्ने निर्णय गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति: विवेकशील साझा केन्द्रीय समितिको दुई-तिहाइ बहुमतद्वारा “मार्ग परिवर्तन” दस्ताबेज पारित

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गर्नुभएको दस्ताबेज “मार्ग परिवर्तन: विचारभन्दा माथि देश (https://rabindramishra.com/6062/)” लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई-तिहाइ भन्दा बढी मतले पारित गरेको छ।
स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।
त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।
बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।
शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी

मिति: ११ कार्तिक, २०७८