‘गृहयुद्ध रोक्न सत्ता कब्जा’

खार्तुम:= सुडान सेनाले मुलुकमा गृहयुद्ध रोक्न सत्ता कब्जा गरेको दाबी गरेको छ । सुडान सेनाका प्रमुख जनरल अब्देल फत्ताह अल ब्रुहनले मुलुकमा गृहयुद्ध रोक्न सरकार विघटन गर्नुपरेको बताउनुभएको हो।

सेना प्रमुख ब्रुहनले मंगलबार ‘कू’को विषयमा बोल्दै सेनासँग राजनीतिक पार्टीहरूलाई हटाउनुको कुनै विकल्प नरहेको बताउनुभएको हो । सुडानमा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै मानिसहरूले सेनाविरुद्ध प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनको क्रममा केही मानिसहरूको मृत्युसमेत भइसकेको छ।

प्रजातान्त्रिक व्यवस्था लागू गर्न सुडानमा राजनीतिक दल र सेनाको संयुक्त संक्रमणकालीन सरकार बनाइएको थियो । तर, सेनाले ‘कू’ गरेसँगै अब सुडानको प्रजातन्त्र पुनः खोसिएको छ।

सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको हो । राजनीतिक दलका नेताहरूलाई पक्राउ गरी सेनाले सोमबार सुडानमा आपत्कालीन अवस्था घोषित गरेको थियो । दुई वर्षपहिले लामो समयदेखिका शासक ओमर अल–बाशिर सत्ताबाट हटाइए यता सेना र सरकारबीच तनाव रहँदै आएको थियो।