डा. हर्षबहादुर बुडामगर स्मृति सम्मानबाट विभिन्न श्रष्टा सम्मानित।

काठमाडौं:= नेपाली साहित्य तथा कला क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै विभिन्न व्यक्ति सम्मानित हुनुभएको छ । डा.हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठानले डा.बुढामगरको ९४औं जन्म जयन्तीको अवसर पारेर श्रष्टाहरूलाई सम्मान गरेको हो ।

काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार शेरबहादुर गुरुङ र सञ्चारकर्मी बन्दना राणालाई अभिनन्दन गरियो । सोही क्रममा हर्षबहादुर बुडामगर साहित्य तथा सामाजिक योगदान सम्मान २०७७ बाट प्राज्ञ डा.ज्ञानु पाण्डे, गीतकार बमबहादुर थापा जिताली, कवि महेश पौड्याल, उपन्यासकार शंकर भारती, कवि डा.दामोदर पुडासैनी (किशोर), कथाकार जलेश्वरी श्रेष्ठ, कवि महादेव अधिकारी, कलाकार मिलन शेरचन, कवि सन्ध्या पहाडी, अस्मिता भण्डारी, कल्पना अधिकारी, प्रकाश समीर, मुस्कान खातुन र सपना रोकमगरलाई सम्मानित गरियो ।

यस्तै कार्यक्रममा साहित्यकारहरू प्रा.डा.लक्ष्मण गौतम, जयदेव भट्टराई, पुष्करराज भट्ट, विजय सागर, गीता कार्की, गायिका पवित्रा घर्तीमगर, कवि विमला तुम्खेवा, बालिका गिरी र उषा लोहनीलाई डा.हर्षबहादुर बुडामगर साहित्य सम्मान २०७६ बाट सम्मानित गरियो ।

उनीहरूलाई दोसल्ला ओढाएर आर्थिक पुरस्कारसहित ताम्रपत्रबाट सम्मानित गरिएको थियो । कार्यक्रममा सम्मान प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्य क्षेत्रमा डा.हर्षबहादुर बुडामगरको अतुलनीय योगदान रहेको बताउनुभयो । यो सम्मानले सम्बन्धित श्रष्टाको सिर्जनामा अझ प्रोत्साहित हुने उहाँले बताउनुभयो ।

अग्रज संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बास्कोटाले बेलायती सेनाबाट अवकास लिएपछि विधावारिधि गरेर समाजमा उदाहरणीय व्यक्ति बनेको बताउनुभयो । जीवनमा उत्तरार्दमा डा.बुडामगरले नेपाली साहित्यमा पुर्‍याएको योगदानको बास्कोटाले कार्यक्रममा चर्चा गर्नुभयो ।

गायिका पवित्रा घर्तीमगर, टीका पुनले आफ्ना गीत प्रस्तुत गरेर कार्यक्रमको रौनकता बढाउनुभएको थियो । डा.बुडामगरकी छोरी लेखा थापाले आफ्नो बुबाको कविता संग्रह जडाउलीबाट केही कविताहरू प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुल्याउनुभयो ।

सो प्रतिष्ठानकी अध्यक्ष तथा प्राज्ञ, गीतकार उन्नती बोहरा शिलाले बुबाको चाहना नै नेपाली साहित्यको विकास गर्नु भएकाले बुबाको नाममा प्रतिष्ठान स्थापना गरेर केही वर्षयताबाट सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको बताउनुभएको थियो ।

सोही कार्यक्रमम प्राज्ञ गीतकार उन्नति बोहरा ‘शिला’को नयाँ उपन्यास ‘डिजायर’ विमोचन पनि गरिएको थियो । शिखा बुक्सले प्रकाशन गरेको यो उपन्यास उन्नतिको नेपाली उपन्यास तृष्णाको अंग्रेजी अनुवाद हो । यसलाई महेश पौड्यालले अंग्रेजीमा रूपान्तरण गर्नुभएको हो ।