बहिर जाने प्रतिबन्ध हटाउँदै अष्ट्रेलिया।

सिडनी:= अष्ट्रेलियाले आफ्ना नागरिकहरुलाई समुद्रपार यात्राको प्रतिबन्ध हटाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अनुमति विना समुद्रपार यात्राका लागि लगाइएको प्रतिबन्ध १९ महिनापछि आगामी सातादेखि हटाउने निर्णय अष्ट्रेलिया सरकारले गरेको हो ।

आगामी नोभेम्बर १ देखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनुपर्ने छैन । तर, अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरूको हकमा भने अहिले नै उक्त प्रतिबन्ध हट्ने छैन ।

सन् २०२१ को अन्त्यसम्ममा विदेशी दक्ष कामदारलाई पनि स्वागत गर्ने तयारीमा आफूहरू रहेको अष्ट्रेलियाका गृहमन्त्री करेन एन्ड्रूजले बताउनुभएको छ । खोप नलगाएकाहरूको हकमा भने कोभिड नियन्त्रणसम्बन्धी सबै शर्तहरू लागू हुने जनाइएको छ ।

योभन्दा अगाडिसम्म अष्ट्रेलियन नागरिकले देश छाड्नुपर्दा विशेष कारण देखाएर अनुमति लिनुपर्ने हुन्थ्यो । अझै पनि अष्ट्रेलिया भित्रिनेसम्बन्धी नियममा भने कडाइ नै गरिएको छ । जसअन्तर्गत खोप नलगाएका मानिसले यात्रा गर्न विशेष अनुमति लिनुपर्ने हुन्छ र १४ दिनसम्म होटेल क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।