दक्षिण कोरिया जाने कामदारले पाँच हजार डलरको बिमा गर्नुपर्ने।

काठमाडौं:= दक्षिण कोरिया जाने कामदारले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि उक्त रकम बराबरको कोरोना बिमा गर्न आहृवान गरेको छ । कोरियाली सरकारको शर्तअनुसार कोरिया जाने कामदारले अनिवार्यरूपमा बिमा गर्नुपर्नेछ।

वैदेशिक रोजगार विभागको प्रस्तावअनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्योरेन्सले पोलिसी जारी गर्न तयार भएका छन् । जसअनुसार कोरिया जाने कामदारले सम्बन्धित बिमा कम्पनीसँग सम्पर्क गरी जोखिम बिमा गरी प्रमाणपत्र वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखामा बुझाउन सक्नेछन्।

सूचीकृत नभएका अन्य बिमा कम्पनी बिमा पोलिसी दिन तयार भई सूचीकृत हुन आएमा सूचीकृत गरिँदै लगिनेसमेत विभागले जनाएको छ । इपिएसअन्तर्गत नेपालबाट कोरिया जाने नेपाली कामदार कोरोना महामारीका कारण लामो समयदेखि रोकिएका छन् । कोरोना सामान्य बन्दै गएपछि मापदण्ड पूर्ण पालनाको सुनिश्चितता गरी कोरिया पक्षसँगको प्रतिबद्धताअनुरूप सरकारले कामदार लैजाने प्रक्रिया अघि बढाएको हो।

यसैबीच लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ जना प्रतिबद्ध श्रमिक कोरिया प्रस्थान गरेका छन् । विभागका अनुसार दक्षिण कोरियामा चार वर्ष काम गरेर नेपाल फर्किएका ४८ जना प्रतिबद्ध कामदार कोरिया गएका हुन् । पहिलो चरणमा ५० जना कामदारलाई पठाउने तयारी भएकोमा दुई जनाको भिसा प्रक्रिया ढिलाइ भएपछि ४८ जनालाई पठाइएको विभागले जनाएको छ ।

कोरियाले सन् २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा कोरियाबाट फर्केका एक सय १९ जना नेपाली प्रतिबद्ध कामदारको नामसमेत पठाएकोमा सोहीअनुसार पहिलो चरणमा ४८ जना कोरिया गएका हुन् । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्र्याक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध कामदारका रूपमा फर्किएका तीन हजार कामदार प्रक्रिया पुगे पनि रोकिएको इपिएस कोरिया शाखाले जनाएको छ ।