‘सामाजिक सञ्जालमा धेरै सक्रिए छैन’: नायक आर्यन सिग्देल।

काठमाडौं := नेपाली चलचित्रका लोकप्रिय लकलेटी नायकको रूपमा परिचित स्टार आर्यन सिग्देललाई पछिल्लो समय कमै चलचित्रमा देख्न पाइन्छ । एक समय चलचित्रमा निकै व्यस्त हुने आर्यन पछिल्लो केही वर्षयता उहाँको हातमा चलचित्र कमै छन् । त्यसो त उहाँलाई चलचित्रको अफर भने नआउने होइन तर काम निकै कम गर्नुभएको छ ।

यसैबीच पछिल्लो समय आर्यनलाई म्युजिक भिडियोमा पनि देख्न पाइएको छ । राम्रो गीत भएमा आफू भिडियोमा काम गर्न चाहने आर्यनले पहिल्यैदेखि बताउँदै आउनुभएको थियो । पछिल्लो केही महिनायता आर्यनका तीनवटा भिडियो सार्वजनिक भइसकेका छन् । आर्यनले भिडियोमा महँगो पारिश्रमिक लिने र जस्तोपायो त्यस्तो भिडियोमा खेल्दैनन् भन्ने हल्लालाई स्वीकार्नु हुन्न । प्रायःआफूलाई आएका अफर स्वीकारेको उहाँको धारणा छ ।

बुधबार आर्यन अभिनित एक म्युजिक भिडियो रिलिज कार्यक्रममा आर्यनले आफ्नो धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘विशेषतः मलाई डाइरेक्ट धेरै अफर आउँदैनन् किनकी मेरो मोबाइलमा अनसेभ नम्बरहरूको फोन आउँदैन । त्यसैले कमै अफर आउने गर्छन् । अफर आएमध्ये टिमअप राम्रो भयो भने काम नगर्ने भन्ने हुँदैन ।’

आर्यनले पछिल्लो समय कला क्षेत्रमा भइरहने सामाजिक सञ्जालका टिकाटिप्पणीहरूमा कत्तिको अपडेट हुनुहुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा सामान्य अपडेट लिने बताउनुभयो । उहाँले युट्युब तथा टिकटक जस्ता सामाजिक सञ्जालमा कमै अपडेट रहेको जानकारी दिनुभयो । ‘युट्युबहरूमा विभिन्न नभएका शीर्षक दिएर आउने सामग्री हेर्दिन, टिकटकमा कहिलेकाँही अपडेट छु ।

तर मैले अहिलेसम्म भिडियो बनाएको छैन’, आर्यनले भन्नुभयो, ‘टिकटकमा मेरो नाममा धेरै अकान्ट बनेका रहेछन्, मेरो आधिकारिक अकाउन्ट छैन, सबै फेक हुन् भन्ने जानकारी गराउँछु ।’ आर्यनले युट्युब र टिकटकमा धेरै अपडेट नभए पनि फेसबुकमा भने आफूले लाइक तथा फ्लो गरेका पेजहरूबाट अपडेट लिने बताउनुभयो । उहाँले अघि भन्नुहुन्छ, ‘विभिन्न आधिकारिक पेजहरूबाट अपडेट लिन्छु, त्यस्तै मिडियाहरूको पेजलाई फ्लो गरेको हुन्छु ।’

यस्तै नायक आर्यनले काम गर्ने क्रममा आफूसँग काम गर्ने कोएक्टर जो भए पनि आफूले सिफारिश नगर्ने बताउनुभएको छ । आफूसँग काम गर्ने कलाकार को छ भन्ने कत्तिको जानकारी लिनुहुन्छ र सिफारिश गर्नुहुन्छ कि नाई भन्ने प्रश्नमा आर्यन भन्नुहुन्छ, ‘मैले मेरो करिअरको यो अवधिसम्म आइपुग्दा अहिलेसम्म यो नायिका राख्नुपर्छ भनेको छैन, पक्कै पनि राम्रो काम गर्ने टिमले राम्रो काम गर्ने मान्छेलाई राख्छ । नयाँ पुरानो जो भए पनि काम राम्रो गर्नुपर्छ भन्नेहुन्छ । नयाँलाई पनि स्थान दिनुपर्छ । म पनि त कुनै समय नयाँ थिएँ ।’

आर्यन अभिनित ‘फूल फुल्यो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । भिडियोमा आर्यनसँग सृष्टि खड्काको अभिनय छ भने गीतमा केशव भावुक र अस्मिता अधिकारीको स्वर रहेको छ । भिडियो संशाक कँडेलले निर्देशन गर्नुभएको छ । बुद्ध थापाले खिच्नुभएको भिडियो विकास दाहालले सम्पादन गर्नुभएको हो । गीत रोमान्टिक डान्सिङ शैलीको रहेको भिडियोका निर्देशक संशाकले जानकारी दिनुभयो । कार्यक्रममा अभिनेता आर्यनले गीत आफूलाई मन परेको र दर्शक तथा श्रोतालाई पक्क मन पर्ने बताउनुभएको थियो ।