परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्छ भन्नु गैरजिम्मेवार: प्रधानमन्त्री देउवा।

काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा देखिएको विवादका विषयमा गठबन्धनमा छलफल हुने बताउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि राजनीतिक भागबण्डा मागेकोलगायत गम्भीर आरोप लागेको विषयमा देउवाले पाँच दलीय गठबन्धनमा छलफल हुने बताउनुभएको हो ।

कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आफ्नो पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा न्यायालयमा चर्किएको पछिल्लो विवादबारे गठबन्धनमा छलफल गर्ने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश जबरालगायत न्यायाधीशहरूलाई हटाउनुपर्ने भन्दै गैरजिम्मेवार कुरा नगर्न पनि आग्रह गर्नुभएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्तिको जवाफ दिनुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

संसद् पुनःस्थापना र नयाँ प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्ने सबैलाई राजीनामा दिनुपर्छ भन्नु गैरजिम्मेवार कुरा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरू कुरा धेरै केही भन्नु छैन तपाईंहरूलाई ! हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरू छन् । न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौँ । यसमा धेरै कुरा छैन ।’

यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले परमादेश जारी गर्ने पाँचैजना न्यायाधीशको राजीनामा माग गर्नुभएको थियो । ओलीले प्रधानन्यायाधीशको राजीनामा माग भइरहेको बेला ओलीले त्यसलाई विषयान्तर गर्दै सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताउनुभएको थियो । प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको पनि बताउनुभएको छ । उहाँले अगाडि भन्नुभयो, ‘केपी शर्मा ओलीलाई संसद् भंग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई-दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो ।

पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको उहाँले बताउनुभयो । यस्तै प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताउनुभयो । ‘यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ’, उहाँले भन्नुभयो । देउवाले मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशसँग जोडेर बाहिर आएका विषयहरूमा सत्यता नभएको पनि बताउनुभएको छ । देउवाले उद्योगमन्त्रीमा गजेन्द्र हमाललाई नियुक्त गरेको विषयमा विवाद भएको थियो ।

अहिले पनि सोही विषयका कारण प्रधानन्यायाधीशको राजीनामा माग गरिएको हो । देउवाले प्रधानन्यायाधीश जबरासँग साइनो जोडेर आलोचना भएपछि राजीनामा दिनुभएका उद्योगमन्त्री हमाल कांग्रेसका नेता भएको प्रष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले तपाईंहरूलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् ।