मुनाफारहित संस्था एनआरएनए फाउन्डेसन दर्ता।

काठमाडौं:= गैरआवासीय नेपाली संघ (एनआरएनए) को एनआरएनए फाउन्डेसन नामक मुनाफारहित संस्था विधिवत्रूपमा दर्ता भएको छ । एनआरएनएले स्थापनाकालदेखि परिकल्पनको नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने, गराउने अभिप्रायले एनआरएनए फाउन्डेसन नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत्रूपमा गत असोज ४ गते दर्ता गरेको हो ।

फाउन्डेसन एक व्यावसायिक सीमित दायित्व भएको  गैरनाफामूलक, गैरराजनीतिक तथा गैरसरकारी संस्थाका रूपमा रही सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने एक व्यावसायिक फाउन्डेसन हुने एनआरएनएले जनाएको छ  । फाउन्डेसनका संस्थापक सदस्यमा एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्वसल्लाहकार कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौड्याल  र प्रतिष्ठित अभिनेत्री मनिषा कोइराला रहनुभएको छ।

फाउन्डेसनको पहिलो आधिकारिक बैठकले जीवा लामिछानेलाई फाउन्डेसनको अध्यक्षमा चयन गरेको छ । साथै अन्य सदस्यमा संरक्षक रामप्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) रहनुभएको एनआरएनए सचिवालयले जनाएको छ ।

बाढीपीडितलाई राहत वितरण

एनआरएनएले बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ । बेमौसमी अत्यधिक भारी वर्षाका कारण सुदूरपश्चिमको कञ्चनपुर जिल्ला महाकाली नदीमा आएको बाढीको प्रभावले विस्थापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका अति प्रभावित तीन सय घरधुरी विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

प्रत्येक एक घरपरिवारका लागि  ५० केजी चामल, तीन ३ लिटर खाने तेल, पाँच केजी दाल, पाँच केजी आलु, तीन केजी नुन, पाँच केजी प्याज, आधा केजी मसला र एक थान त्रिपाल प्रदान गरिएको एनआरएनएले जनाएको छ ।

त्यस्तै दुई थान म्याट, दुई थान ब्लाङ्केट, एक थान बाल्टिन, एक थान जग,  दैनिक प्रयोग हुने लत्ताकपडामा टिसर्ट चार थान, टाउजर दुई थान, विनसिटर दुई थान, छाता एक थान रहेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले नै प्रभावित क्षेत्रमा पुगी राहत सामग्री हस्तान्तरण गर्नुभएको बताइएको छ । उहाँले जहिले पनि मातृभूमिमा आपतविपद परेको बेला विश्वभरिका एनआरएनले भौतिक तथा आर्थिकरूपमा सहयोग गर्दै आएको बताउनुभयो ।

राहत हस्तान्तरण कार्यक्रमका संयोजक तथा मध्यपूर्व क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोजकुमार श्रेष्ठ (गोर्खाली), मानार्थ परिषदका सदस्य तथा राहत कार्यक्रमका उपसंयोजक धर्मराज गिरी, राष्ट्रिय समन्वय परिषद् क्यानाडाका प्रतिनिधि तुला भट्टचन, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रञ्जनराज कुँवर, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाबाट नवीनराज जोशी, स्वयंसेवक प्रदिप खनाल, स्वयंसेवक सञ्जु श्रेष्ठलगायतको सक्रिय सहभागिता रहेको एनआरएनएले जनाएको छ ।

राहत कार्यमा पूर्वश्रममन्त्री रमेश लेखक, स्थानीय निकायका जनप्रतिनिधिहरू, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी, दोधारा चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनार, भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, उद्योग वाणिज्य संघ कञ्चनपुरका पूर्वउपाध्यक्ष माधवराज जोशीलगायतले सहजीकरण गरेको बताइएको छ ।