कञ्चनपुरका बाढीपीडितको गुनासो, ‘बाढीबाट त बाँच्यौँ, भोकै कसरी बाँचौँ?’

[ देवेन्द्र खड्का ] 

महेन्द्रनगर:= गत आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मसेट्टीकी दीर्घमतीदेवी खड्का अरू दिनझैँ साँझ छिट्टै खाना खाएर ओछ्यानमा पल्टिनुभयो । बाहिर पानी परिहरेको थियो उहाँ घरभित्र मोबाइलमा गीत सुन्दै हुनुहुन्थ्यो । राति १२ बजे अचानक महाकालीमा पानीको भेल सुसाएको आवाज सुनेपछि दीर्घमती बाहिर हेर्न आउँदासम्म उहाँको घर वरिपरि पूरै महाकालीको पानीले जलमग्न भइसकेको थियो ।

बाढी धेरै नै बढेकाले उहाँसहित स्थानीय चारजना महाकाली नदीको बीचभागमा फस्नुभयो । बाढीबाट बच्न उहाँहरू रूखमा चढेर रातभरि उद्धार टोलीको प्रतीक्षामा रूखमै बस्नुभयो । अर्कोदिन (सोमबार) मात्रै नेपाली सेनाको हेलिकप्टरमार्फत नदीमा फसेका ४५ वर्षीया दीर्घमतीसहित ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, नौ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायकको सकुशल उद्धार गरिएको थियो ।

‘राति अचानक बाढी आउँदा हामी नदीको बीचभागमा रातभरि फस्यौँ ।’ दीर्घमतीले भन्नुभयो, ‘अर्का दिन हेलिकप्टरले हाम्रो उद्धार गर्‍यो ।’ उहाँले अगाडि थप्नुभयो, ‘बाढीबाट जसोतसो ज्यान बाँचे पनि बाढीले हाम्रो घरमा रहेका सबै अन्न, लत्ताकपडा सबै बगाएर लग्दा अहिले दुई छाक खान समस्या भएको छ ।’ बाढीबाट ज्यान जोगिए पनि घरमा अन्न, कपडा केही नहुँदा के खाने भन्ने चिन्ता रहेको उहाँले बताउनुभयो । ‘वडा कार्यालयले सोमबार केही किलोग्राम चामल, दाल, तेल, नुन त दिएर गएका छन् ।’ उहाँले भन्नुभयो, ‘तर वडा कार्यालयले दिएको त्यो राहत सकिएपछि के खाने भन्ने चिन्ता अझै लागिरहेको छ ।’

सोही क्षेत्रका कृष्ण चन्दको पनि घरसहित अन्न, लत्ता कपडा सबै बगाएपछि अहिले उहाँ छाक कसरी टार्ने भन्ने चिन्तामा हुनुहुन्छ । ‘बाढीले सबै बगाएर लग्यो । वडा कार्यालयले केही खाद्य सामग्री त दिएर गएका छन् तर खै कति दिन चल्ने हो त्यसपछि के खाने ? बाढीबाट त बाँच्यौँ अब खाना नपाए कसरी बाँच्ने हो ? हामी त भगवान्को भरोसामा छौँ ।’ यता भीमदत्त नगरपािलका–१२ की ५३ वर्षीया सिद्धादेवी थापा पनि चाउचाउ र चिउरा खाएर ६ दिनदेखि छाक टारिरहनुभएको छ ।

‘मैले छिमेकीको चार कठ्ठा जग्गा वर्षको १० हजार रुपैयाँ तिर्ने गरी लिजमा लिएर धान लगाएकी थिए’ थापाले भन्नुभयो, ‘तर अस्तिको बाढीले खेत र घरमा रहेका सबै अन्न बगाएर लग्यो ।’ उहाँले अगाडि थप्नुभयो, ‘अब अहिले म कहाँबाट जग्गाको भाडा तिरूँ, के खाऊँ ? कोही ऋिण पनि दिँदैनन्, अस्ति चाउचाउ, चिउरा दिएका थिए त्यही खाएर बाँचेकी छु । बाढीबाट बाँचे पनि भोकै कसरी बाँचौँ ?’

भीनपा–१२ बैजनाथ टोलकी किरण बुढाको समस्या पनि उस्तै छ । ‘बाढीले मेरो कुखुरा फार्ममा भएका सबै पाँच लाख मूल्यका कुखुरा, घर, अन्न, लत्ताकपडा सबै बगाएर लग्यो ।’ किरणले भन्नुभयो, ‘अहिले म र मेरो परिवार महाकालीको किनारमा रहेको सडकमा खुला आकाशमुनि बास बस्न बाध्य छौँ ।’ उहाँ भन्नुहुन्छ, ‘बाढीबाट बाँच्यौँ तर घरमा खाने कुरा केही नहुँदा भोकै कसरी बाँच्ने ? एकजना दाइले केही चामल, दाल दिएर गएका थिए त्यो सकिन लाग्यो ।

बाढी आएको ६ दिनसम्म पनि अरू कसैले केही राहत दिएका छैनन् । के खाने समस्या धेरै छ ।’ उता, दोधारा–चाँदनी नगरपालिका-१० कुतियाकबरका बाढीपीडित पनि भारतको भरमा बाँचिरहेका छन् । ‘भारतका सरदारले हामी बाढीपीडितलाई अहिले खाना खुवाइरहेका छन् ।’ दोधारा चाँदनी-१० शान्तिटोलका टीकाराम सार्कीले भन्नुभयो, ‘कुतियाकबरका बाढीपीडितलाई भारतले खाना खुवाइरहेको छ । यदि भारतले खाना खुवाउन छाडेपछि के खाने सरकारबाट अहिलेसम्म कुनै राहत आइपुगेको छैन ।’

यता, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी आशोक भण्डारीले स्थानीय तहमार्फत विभिन्न सहयोगी संस्थाले राहत वितरण गर्ने काम भइरहेको जानकारी गराउनुभयो । ‘गुनासो आएजस्तो खानै समस्या भन्ने अवस्था त छैन तर पर्याप्त नहुन सक्छ । जिल्लामा बढी क्षति भएको क्षेत्रमा सम्बन्धित स्थानीय तहमार्फत विभिन्न सहयोगी संघ संस्थाले राहत वितरण गरिरहेको अवस्था छ ।’