टी-२० विश्वकप क्रिकेट: अस्ट्रेलियाको विजयी सुरुवात।

दुवई:= अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। जितका लागि ११९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ३४ बलमा ३ चौकासहित सर्वाधिक ३५ रन जोड्नुभयो । यस्तै मार्कस स्टोइनिस १६ बलमा ३ चौकासहित २४, ग्लेन म्याक्सवेलले २१ बलमा १ चौकासहित १८ रन थप्नुभयो ।

त्यसबाहेक डेविड वार्नरले १४ तथा मिचेल मार्शले ११ जोड्नुभएको थियो । विकेट किपर म्याथ्यु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि ४० रनको अविजित साझेदारी गर्दै जित पक्का गराउनुभएको थियो । दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक २ विकेट लिनुभयो । कगिसो रबाडा, तबरेज शाम्सी, केशव महाराजले १–१ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका एडेन माक्ररमले ३६ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४० रन जोड्नुभयो ।  कागिसो रबाडा २३ बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।

अस्ट्रेलियाका जोश हेजलवुडले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै स्पिनर एडम जाम्पाले ४ ओभरमा २१ रन खर्चेर २ तथा प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १/१ विकेट लिनुभयो । अब दक्षिण अफ्रिकाले दोस्रो खेल मंगलबार वेस्ट इन्डिजसँग दुवईमा प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलियाले बिहीबार श्रीलंकासँग खेल्नेछ ।