टी-२० विश्वकप क्रिकेट: वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको पहिलो जित।

दुबई:= टी-२० विश्वकपको इतिहासमा पहिलोपल्ट इंग्ल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ । जारी विश्वकपमा साबिक विजेता वेस्ट इन्डिजलाई इंग्ल्यान्डले शनिबार राति भएको खेलमा ६ विकेटको जित हात पारेको हो । जितसँगै इंग्ल्यान्डले जारी विश्वकपमा विजयी सुरुवात गरेको छ ।

जितका लागि सामान्य ५६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । इंग्ल्यान्डको जितमा जस बटलर २२ बलमा ३ चौकासहित २४ रन, ओपनर जेसन रोय ११, जोनी बेयरस्टो ९, मोइन अली ३ र लियाम लिभिङस्टोनले १ रन जोड्नुभयो । वेस्ट इन्डिजका स्पिनर अकिल हुसेनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिनुभयो । रवि रामपाउलले १ विकेट लिनुभयो।

त्यसअघि दुवई इन्टरनेसनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले १४.२ ओभरमा ५५ रनमात्रै बनाउन सक्यो । टी-२० विश्वकप इतिहासमा यो तेस्रो कम योगफल हो । यसअघि २०१४ को टी-२० विश्वकपमा नेदरल्यान्ड्स श्रीलंकाविरुद्ध १०.३ ओभरमा ३९ रनमा अलआउट भएको थियो । यस्तै शुक्रबार नेदरल्यान्ड्सले नै श्रीलंकाविरुद्ध ४४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका क्रिस गेलले १३ बलमा ३ चौकासहित १३ रनबाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन । वेस्ट इन्डिजका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डका स्पिनर आदिल राशिदले २.२ ओभरमा २ रन खर्चेर ४ विकेट लिनुभयो । मोइन अली र टायमल्स मिल्सले २-२ विकेट लिनुभयो । क्रिस वोक्स र क्रिस जोर्डनको नाममा १/१ विकेट रहृयो ।

जितसँगै इंग्ल्यान्ड सुपर १२ को समूह ‘ए’ मा एक खेलमा दुई अंकका साथ शीर्षस्थानमा छ । अस्ट्रेलिया एक खेलमा दुई अंकका साथ नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । इंग्ल्यान्डले अब बुधबार बंगलादेशसँग खेल्नेछ । वेस्ट इन्डिजले मंगलबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।