‘चुरीफुरी’ पुस ९ गतेबाट प्रदर्शनमा आउने।

काठमाडौं:= कमेडी जनराको नयाँ नेपाली चलचित्र ‘चुरीफुरी’ आउँदो पुस ९ गतेबाट प्रदर्शन हुने भएको छ । कोरोनाका कारण लामो समय बन्द रहेका हल खुल्न थालेपछि निर्देशक ऋषिराज आचार्यले आफ्नो चलचित्र प्रदर्शनको मिति पक्का गर्नुभएको हो । उहाँका अनुसार दर्शकले आगामी पुस ९ गते अर्थात् डिसेम्बर २४ मा देशभरका हलमा ‘चुरीफुरी’ हेर्न पाउने छन् ।

निर्देशक आचार्यले आफ्नो चलचित्र डिसिएनले वितरण गर्ने बताउनुभएको छ । निर्देशक आचार्यकै लेखन तथा निर्माण रहेको चलचित्रमा नवकलाकारहरू अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत अहम् भूमिकामा छन् भने चलचित्र तथा टेलिभिजनका चर्चित कलाकर्मीहरू–रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुवोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायतले अभिनय गर्नुभएको छ ।

आरबी मुभीजको व्यानरमा निर्देशक आचार्य स्वयं र रिना ढकाल निर्माता रहेको चलचित्रको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा हुनुहुन्छ । राहुल राईले खिचेको चलचित्र नवीन निरौलाले सम्पादन गर्नुभएको हो भने भीमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ ।