युएई:= टी-२० विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको समूह ‘ए’ को अन्तिम खेलमा नेदरल्यान्ड्स श्रीलंकासँग ४४ रनमै अलआउट भएको छ । शारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रन बनाउँदै अलआउट भयो ।
नेदरल्यान्ड्सका लागि कोलिन एक्रमनले ९ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ११ रन बनाउनुभयो । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सक्नुभएन । स्कट एडवाड्र्सले ८, म्याक्स ओडाउड २, बेन कुपर ९ र पिटार सिलार २ रनमा आउट हुनुभयो । चार खेलाडीले खाता खोल्न सकेनन् ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिनुभयो । तीव्रगतिका बलर लाहिरू कुमाराले ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिनुभयो । महेश थेक्सनाले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिनुभयो ।
टी-२० विश्वकप इतिहासमा यो दोस्रो कम योगफल हो । यसअघि २०१४ को टी-२० विश्वकपमा नेदरल्यान्ड्स नै श्रीलंकाविरुद्ध १०.३ ओभरमा ३९ रनमा अलआउट भएको थियो ।
४५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंकाका कुशल परेरा २४ बलमा ६ चौकासहित ३३ रनमा अविजित रहनुभयो । चारिथ असलंका ६ रन र पाथुम निसंका शून्यमा आउट हुनुभयो ।
जितसँगै समूह ‘ए’ बाट श्रीलंका तीन खेलमा तीनमा नै जितसहित ६ अंकका साथ शीर्षस्थानमा रहृयो । नामिबिया तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंकका साथ सुपर–१२ मा स्थान पक्का ग¥यो । आयरल्यान्ड तीन खेलमा दुईमा हार र एकमा जितसहित तेस्रो र नेदरल्यान्ड्स तीन खेलमा तीनमा नै हारका साथ अंकविहीन हुँदै बाहिरियो । सुपर १२ बाट दुवै समूहका शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नामिबिया सुपर १२ मा
नामिबियाले पहिलोपल्ट टी-२० विश्वकपको सुपर १२ मा स्थान बनाएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा टेस्ट टोली आयरल्यान्डलाई ८ विकेटले हराउँदै नामिबिया सुपर १२ मा पुगेको हो ।
जितका लागि १२६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । नामिबियाको जितमा कप्तान गेरहार्ड इरास्मस ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा अविजित रहनुभयो । डेविड विसेले १४ बलमा १ चौका र २ छक्कासहित २८ रन बनाउनुभयो । ओपनर क्रेग विलियम्सले १६ बलमा ३ चौकासहित १५ रन थप्नुभयो । आयरल्यान्डका कर्टिस क्याम्फरले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभयो ।
त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले २४ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाउनुभयो । केभिन ओ ब्रायनले २४ बलमा २ चौकासहित २५ रन बनाए पनि टोलीलाई जिताउन सक्नुभएन ।
नामिबियाले सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ को विजेता स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सुपर १२ को समूह ‘ए’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ‘बी’ को उपविजेता बंगलादेश र समूह ‘ए’ को विजेता श्रीलंका रहनेछन् । सुपर १२ का शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।



















