सेयर लगानीकर्तामा निराशा।

काठमाडौं:= पछिल्लो समय सेयर बजार घट्दोक्रममा रहेको छ। बैंक तथा वित्तीय संस्थाले व्याजदर वृद्धि गरेसँगै सेयर बजार पनि प्रभावित भएको हो । जसका कारण बढ्ला र सेयर बिक्री गरौंला भनेर बसेका लगानीकर्तामा निराशा छाएको छ । बैंकहरूले कात्तिक महिनाका लागि नयाँ व्याजदर सार्वजनिक गरेपछि पछिल्लो साता नेप्से परिसूचक तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

अघिल्लो साता २६३९.३८ अंकमा बन्द भएको नेप्से पछिल्लो साता ३.१२ प्रतिशत अर्थात् ८२.४३ अंक घटेर २५५६.९५ अंकमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स १०.८३ अंक, फ्लोट इन्डेक्स ६.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.७१ अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो साता दैनिक चार अर्ब छ करोड बराबरको सेयर कारोबार भएकोमा पछिल्लो साता औसत दुई अर्ब ७१ करोडको मात्र कारोबार भएको छ । नेप्सेसँगै कुल बजार पुँजीकरण पनि घटेको छ । अघिल्लो साता ३६ खर्ब ९५ अर्ब रुपैयाँ रहेको नेप्सेकोे पुँजीकरण पछिल्लो साता एक खर्ब १५ अर्ब घटेर ३५ खर्ब ७९ अर्ब रुपैयाँमा खुम्चिन पुगेको छ ।

१३ समूहका परिसूचकमध्ये दुई समूहको परिसूचकमात्र बढेको छ । अन्य र व्यापार समूहको परिसूचक बढेका हुन् भने बाँकी ११ समूहको परिसूचक घटेका छन् । अन्य समूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशत बढेको छ । जलविद्युत् समूहको परिसूचक सर्वाधिक ५.२४ प्रतिशत घटेको छ भने जीवन बिमा समूहको परिसूचक सबैभन्दा धेरै ५८४.०६ अंकले घटेको छ ।

कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले घटेको थियो । बिहीबार नेप्से १४.७० अंकले घटेर २५५६.९५ अंकमा झरेको हो । नेप्से घटेसँगै अघिल्लो कारोबार दिनभन्दा कारोबार रकम पनि चार करोड २७ लाख रुपैयाँले घटेको थियो । बिहीबार दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार चार सय ६० रुपैयाँको सेयर कारोबार भएको  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यस दिन दुई सय १६ कम्पनीका ६१ लाख छ हजार चार सय ५२ कित्ता सेयर कारोबार भएका थिए ।

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये अन्य र म्युचुअल फन्डको सूचकमात्र बढेको छ । अन्य १.३० र म्युचुअल फन्ड ०.४३ प्रतिशतले बढेको थियो । ११ वटा सूचक घटेकोमा व्यापार, विकास र फाइनान्सको सूचक २ प्रतिशत धेरैले घटेको छ भने होटल, जलविद्युत्, उत्पादनमूलक सूचक पनि एक प्रतिशतभन्दा धेरैले घटेको थियो ।

कारोबार रकमका आधारमा सानिमा बैंक २७.१३ करोडसहित शीर्षस्थानमा रहेको थियो भने ११.५६ करोडसहित माछापुच्छ«े बैंक दोस्रो स्थानमा रहेको थियो । नबिल, सिद्धार्थ बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मेरो माइक्रो फाइनान्स, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर, निर्धन उत्थान र अपि पावरको शीर्ष दश स्थानमा रहेका थिए । मेरो माइक्रो फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।