पाँचथर := गत कात्तिक १ र २ गते अविरल परेको वर्षाका कारण साँवाखोलामा आएको बाढीले पाँचथरको मौवा जोरसाले हुँदै यासोक फिदिम जोड्ने पक्की सडक पुल बगाएको छ । पुल बगाउँदा दुई करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको पुल निर्माणको जिम्मा लिएको मैनाचुली निर्माण सेवा प्रालिका आधिकारिक प्रतिनिधि दिनानाथ अधिकारीले जानकारी दिनुभयो ।
बाढीले स्काभेटर, बे्रकर, वाटर पम्प चार, डिजेल जेनेटर तीन, कंक्रिट मिक्चर मेसिन तीन, कंक्रिट भाइब्रेटर पाँचवटा पुरिएर कामै नदिने अवस्थामा पुगेको छ । यस्तै ग्याबिन जाली ८०० घनमिटर, सिमेन्ट, बालुवा, प्लाई, रड, युजग क्लेम्प, सोलार सेट लत्ताकपडा सामग्री, कम्प्युटर प्रिन्टर, पुल निर्माणमा प्रयोग हुने फलामे पाइप, केम्पलगायत सामग्री बगाएर पूर्णरूपले क्षतिग्रस्त बनाएको अधिकारीले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय पाँचथर मातहत निर्माण भइरहेको ४० मिटर लामो पक्की सडक पुल बगाएको हो । पुल आगामी ०७८ पुस ४ गतेसम्ममा निर्माणकार्य सक्ने गरी तीव्र गतिमा काम भइरहेको थियो । अहिलेसम्म पुलको ५० प्रतिशत काम सकिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख ललित चौधरीले जानकारी दिनुभयो । पुलको गत ०७६ असोज ५ गते सम्झौता भई काम भइरहेको थियो ।



















