मुम्बई:= भारतीय चलचित्रको इतिहासमा एउटा आइकनिक फिल्मको रूपमा परिचित ‘दिलवाले दुल्हनिया ले जाएंगे (डिडिएलजे)’लाई अब म्युजिकल प्लेका रूपमा दर्शकमाझ ल्याइने भएको छ । जसको निर्देशन आदित्य चोपडाले गर्दै हुनुहुन्छ ।
यो प्लेमा नयाँ कलाकार राखिनेछ । जसमा ‘लरेन्स ओलिवर अवार्ड’ विजेता नेल बेञ्जामिनको पुस्तक र गीत हुनेछ । साथै विशाल ददलानी र शेखर रावजियानीको संगीत हुनेछ । ‘म हलिउड र अमेरिकी पप संस्कृतिबाट निकै प्रभावित थिएँ । टम क्रुजलाई प्रमुख भूमिकामा अभिनय गराएर विश्वव्यापी बोलिने अंग्रेजी भाषाका दर्शकका लागि यो फिल्म बनाउने योजनामा थिएँ ।
तर त्यो हुन सकेन । डिडिएलजे सन् १९९५ मा रिलिज भयो र भारतीय फिल्मको इतिहासमा सबैभन्दा लामोसमयसम्म रिलिज हुने फिल्म बन्यो । यसले मलाई पहिचान दियो । जसका लागि म यो फिल्मप्रति जहिल्यै आभारी छु’, उहाँले भन्नुभएको छ ।
नयाँ भर्सनको प्लेमा एक अमेरिकी युवक र भारतीय युवतीको प्रेमकथा देखाइनेछ । दुई संस्कृति र दुई फरक देशको प्रेमकथा देखाइनेछ । चलचित्र ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’मा शाहरूख खान र काजोल प्रमुख भूमिकामा हुनुहुन्थ्यो ।



















