काठमाडौं:= पुनर्निर्माणबाट उत्थानशीलतातर्फ भन्ने नााराका साथ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनस्र्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापना भएको करिब छ वर्षमा सफलतापूर्वक सम्पन्न गरेको छ भने केही बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको छ ।
भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा प्राप्त भएका अनुभव तथा सिकाइहरूले विपद्बाट सुरक्षित नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार तयार भएको प्राधिकरणले जनाएको छ । शुक्रबार आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको यसै अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
सम्मेलनमा निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत गर्ने कार्यक्रम रहेको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले सम्मेलनमा सहभागी हुन स्वदेशी तथा विदेशी पाहुना, विषयविज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।
प्राधिकरणले सम्मेलनलाई लक्षित गरी छुट्टै वेबसाइटसमेत सार्वजनिक गरेको छ । प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन सचिवालयका सदस्य मनोहर घिमिरेले नयाँ बेवसाइटमा सम्मेलनसम्बन्धी महत्वपूर्ण गतिविधि र जानकारीहरू समावेश गरिएको बताउनुभयो ।
प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले २०७२ साल पुस १० गते स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाका महत्वपूर्ण काम सम्पन्न गरी सरकारको निर्णयअनुसार बाँकी रहेका कार्य सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो । विनाशकारी भूकम्पको दुई महिनापछि २०७२ साल असार १० गते काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो ।
प्राधिकरणका अनुसार सम्मेलनमा चार खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम तीन खर्ब २१ अर्ब रुपैयाँ थियो । त्यसमध्ये तीन खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ, जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो ।



















