नेपाली फुटबल टोलीको बरीयता झन खस्कियो।

काठमाडौं:= नेपाली फुटबल टोलीको अन्तर्राष्ट्रिय बरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको बरीयतामा नेपाल एक स्थान तल झरेर १६९औं स्थानमा पुगेको हो । यसअघि नेपाल १६८औं स्थानमा रहेको थियो।

अघिल्लो साता सम्पन्न दक्षिण एसियाली फुटबल साफ च्याम्पिनसिपको उपविजेता बने पनि टोलीको बरीयता खस्किएको हो । साफमा नेपालले पाँच खेल खेल्दा दुई जित, एक बराबरी र दुई खेलमा हार बेहोरेको थियो । त्यसअघि भदौमा स्वदेशमा भारतविरुद्ध भएको दुई मैत्रीपूर्ण खेलमा नेपालले एकमा बराबरी र अर्कोमा हार बेहोरेको थियो।

साफ च्याम्पिनसिपमा नेपाल भारतसँग मात्रै लिग चरण र फाइनल गरी दुईपटक पराजित भएको थियो । असोज ३० गते फाइनलमा ३-० ले भारतसँग हारेको नेपाल त्यसअघि असोज २४ गते लिग चरणमा भारतसँगै १-० को हार बेहोरेको थियो । यस्तै साफमा नेपालले माल्दिभ्सलाई १-०, श्रीलंकालाई ३-२ ले हराएको थियो भने बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो।

फिफाको नयाँ बरीयताअनुसार भारत दक्षिण एसियामा शीर्षस्थानमा कायम छ । गत महिनाभन्दा भारतको बरीयता एक स्थान सुधार भएको छ । भारत एक सय छैटौं स्थानमा पुगेको छ । दक्षिण एसियाका अन्य राष्ट्रमध्ये माल्दिभ्स नेपालभन्दा माथि १५६औं, भुटान १८६औं, बंगलादेश १८७औं, पाकिस्तान १९७औं, श्रीलंका २०४ औं स्थानमा रहेका छन् ।

पाकिस्तान र भुटानबाहेक पाँच राष्ट्रले माल्दिभ्समा भएको साफ च्याम्पिनसिपमा भाग लिएका थिए। विश्व बरीयतामा बेल्जियम शीर्षस्थानमा छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो र इटाली चौथो स्थानमा उक्लँदा इंग्ल्यान्ड पाँचौं स्थानमा झरेको छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दसौं स्थानमा रहेको छ।