काठमाडौं:= कोरोना कहरपछि नेपाली चलचित्र क्षेत्रलाई उकास्न चलचित्रकर्मीले प्रयास गरिरहँदा पनि सफल हुनसकेका छैनन् । सरकारले हल खोल्ने अनुमति दिएसँगै केही चलचित्र प्रदर्शनमा आए तर दर्शक हलसम्म नपुग्दा निर्माताले घाटा व्यहोर्नु प¥यो ।
यसैबीच शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘डाँडाको वरपीपल’ असोज २६ गते देशभर प्रदर्शनमा आएको थियो । दशैँको छेकोमा रिलिज भएको यो चलचित्र कोरोना कहरपछिको निषेधाज्ञापछि रिलिज भएको पहिलो नेपाली चलचित्र हो ।
चलचित्रमा स्टारकाष्ट भएकाले दर्शक हलसम्म आउने अपेक्षा गरिएको थियो । चलचित्रमा कलाकारहरू शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललगायत सलोन बस्नेत र रुवीना थापाको अभिनय रहेको छ । नाम चलेका कलाकारको अभिनय रहेको भए पनि दर्शक हलसम्म पुगेनन् । चलचित्र रिलिज भएको एकसाता बितिसक्दासमेत यो फिल्मको व्यापार भने ‘शून्य’ बराबर छ ।
‘डाँडाको वरपीपल’ चलचित्रको प्रचारप्रसारकै क्रममा महानायक विवाद उठेको थियो । जसकारण पनि दर्शकहरू रिसाएर चलचित्र हेर्न नआएको भन्ने अनुमान गरिएको छ । सामाजिक सञ्जालमा फिल्म बहिष्कारको अभियान नै चलेको थियो । चलचित्रमा समावेश गीतमा लाइकभन्दा दोब्बर बढी डिस्लाइक नै आएको थियो ।
तर, यस चलचित्रका निर्देशक शोभित बस्नेत भने महानायक विवादले चलचित्रमा असर नगरेको बताउनुहुन्छ । उहाँले आफ्नो चलचित्रमात्र नभएर अझै सात, आठ महिना अन्य चलचित्रहरू हेर्ने पनि दर्शक नआउने दाबी गर्नुभयो । शोभितले भन्नुभएको छ, ‘यो चलचित्र मैले हलका लागि बनाएको होइन । ओटीटीको लागि बनाएको हो । हलमा जति दर्शक आए त्यो निर्मातालाई फाइदाको नै कुरा हो । किनभने निर्माताहरूलाई चलचित्र विकास बोर्डले सहयोग गरेको छ । बुढासुब्बा डिजिटल कम्पनी पनि सन्तुष्ट छ । उहाँहरूले मलाई अर्को फिल्ममा समेत साइन गराइसक्नु भएको छ । जसको छायांकन तिहारपछि हुनेछ । चलचित्रलाई असर परेको भए मलाई अर्को फिल्ममा साइन गर्थेन होला ।’
क्युएफएक्सका सिईओ रोशन अडिगाका अनुसार ‘डाँडाको वरपीपल’ हेर्ने दर्शकहरू नआएको भएपछि हलिउड चलचित्रमा पनि केही दर्शकको उपस्थिति थियो । उहाँका अनुसार ‘डाँडाको वरपीपल’को एउटा शो मा चार÷पाँचजनामात्रै दर्शक थिए । जसकारण छायां, लाबिम र सिभिलबाट यो फिल्म हटिसकेको हो ।
यस्तै जेम्स बोन्डको हलिउड चलचित्र ‘नो टाइम टू डाइ’ हेर्न भने दर्शक आएको उहाँले जानकारी दिनुभएको छ । चलचित्रमा औसत् ३० देखि ३५ प्रतिशत अकुपेन्शीमा दर्शक आइरहेको उहाँ बताउनुहुन्छ ।



















