आईपीएल क्रिकेट: उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने।

एजेन्सी := इन्डियन प्रिमियर लिगको फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्ने भएका छन्। यूएईको सारजाहमा गएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेकोले अब चेन्नई सुपर किङ्ससंग भिड्ने पक्का भएको हो।

लिग चरणमा शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाएको दिल्ली क्यापिटल्सले फाइनलमा स्थान बनाउन भने सकेन । पहिलो क्वालिफायर्समा दिल्ली चेन्नईसँग चार विकेटले पराजित भएको थियो । लिगको चौथो स्थानमा रहेर प्ले अफ पक्का गरेको कोलकाताले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान पक्का गरेको हो।

शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३५ रन बनाएको थियो । १३६ रनको लक्ष्य कोलकाताले एक बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको हो।

दिल्लीका लागि शिखर धवनले सबैभन्दा ३६ रन बनाए । श्रेयस ऐयरले अविजित ३० तथा पृथ्वी श र मार्कुस स्टोइनिसले समान १८ रन बनाउँदा शिमरन हेटमेयरले १७ रन जोडे । कोलकाताका बरुण चौधरीले दुई तथा लोकी फर्गुसन र शिभम माबीले एक-एक विकेट लिए ।

कोलकाताका लागि बेन्काटेस ऐयरले सबभन्दा धेरै ५५ रन बनाए । शुबमन गिलले ४६ रन जोडे । दुई जनाले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे । नितिश रानाले १३ रन बनाए । त्यसपछि राहुल त्रिपाठीले अविजित १२ रन बनाउँदै कोलकातालाई रोमाञ्चक जित दिलाए ।