साफ च्याम्पियनसिप फुटबलको फाईनलमा नेपालले भारतको सामना गर्ने।

एजेन्सी := दक्षिण एशियाली राष्ट्रहरुको सबै भन्दा ठूलो फुटवल प्रतियोगीता (साफ च्याम्पियनसिप) को फाईनलमा नेपालले भारतको सामना गर्ने भएको छ।

गएराति सम्पन्न लिग चरणको खेलमा भारतले आयोजक माल्दिभ्सलाई तीन एकले स्तव्ध पार्दै फाईनल पुगेको छ। नेपाल त्यस अघि नै बंगलादेशलाई रोक्दै फाईनल पुगेको थियो।
अब उपाधीका लागि भारतले नेपालको सामना गर्नेछ ।

लिग चरणमा नेपालको सात अंक भएको छ भने भारतको ८ अंक भएको छ । लिग चरणमा भारतले नेपालमाथि एक शुन्यको जीत हासिल गरेको थियो । भारत सात पटकको बिजेता हो भने नेपाल पहिलो पटक फाईनल पुगेको हो ।
फाईनल खेल शनिबार साँझ ८ः४५ बजे हुनेछ ।

यस पटक नेपाल पनि उपाधी जीत्ने लक्ष्य सहित मैदानमा आएकाले र रक्षा र आक्रमण दुबैमा सबल देखिएकाले उपाधी भीडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यो उपाधी भीडन्तपछि नेपालका प्रशिक्षक अलमुताईरीले राजीनामा दिने घोषणा गरीसकेका छन् ।