अफगानिस्तानको मस्जिदमा आत्मघाती विष्फोट, कम्तीमा ५० को मृत्यु।

काबुल:= अफगानिस्तानमा तालिवानको सरकार बनेपछि सबैभन्दा ठूलो आक्रमण भएको छ । अफगानिस्तानको कुन्दुजस्थित हजारा–शिया मस्जिदमा आत्मघाती विष्फोट भएको हो । मस्जिदमा प्राथना गरिरहेका बेला आक्रमणमा कम्तीमा ५० जना मारिएको र एक सयभन्दा बढी घाइते भएका छन् । तालिवान प्रवक्ता जबीहुल्ला मुजाहिदले मस्जिदमा विस्फोट हुँदा कयौं मारिएको पुष्टि गर्नुभएको छ ।

आत्मघाती बम विष्फोटको जिम्मेवारी आइएसआइएस खुरासानले लिएको छ । कुन्दुज प्रान्तका डेब्युटी पुलिस प्रमुख दोस्त मोहम्मद ओबाइदाका अनुसार यो आक्रमणका कम्तीमा एक सयजना मारिएका छन् । स्थानीय प्रशासनका अनुसार यो आक्रमण शिया हजारा समुदायको मस्जिदलाई निशाना बनाएर गरिएको थियो ।

कुन्दुजका तालिवान सरकारका पुलिस उपप्रमुख ओबाइदाका अनुसार शुक्रबार यो आक्रमण एक आत्मघाती आक्रमणकारीले गरेका थिए । उहाँले भन्नुभयो, ‘म हाम्रा शिया दाजुभाइहरूलाई आश्वस्त बनाउँछु कि तालिवान उनीहरूको सुरक्षा गर्नका लागि तयार छ ।’

अफगानिस्तानमा इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् । इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भ्रातृ संस्था आइएस–केले हिंसात्मक रूपमै तालिवानको विरोध गर्दै आएको छ । सो समूहले हालै अफगानिस्तानका पूर्वी भागका धेरै ठाउँमा बम विष्फोट गराइसकेको छ ।