वैशाख ३० मा स्वस्तिमाको चिसो मान्छे।

काठमाडौं:= नेपाली चलचित्रहलहरू गएको असोज २१ गते घटस्थापनाबाट खुलिसकेका छन् । हल खुलेसँगै चलचित्रले प्रदर्शनको मिति तय गर्न थालेका छन् । यसैबीच अभिनेत्री स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चिसो मान्छे’ले पनि आउँदो वैशाख ३० लाई प्रदर्शन मिति घोषणा गरेको छ । यो चलचित्र गत वर्षको भदौमै प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण रोकिएको थियो ।

शनिबार निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको थिम पोष्टर सार्वजनिक गरेको छ । जसमा दुर्गम भेगको एक रूखको चौतारामा विदेशबाट मृत शरीर बोकेर आएको रातो बाकस र त्यसमाथि कालो रंगको लगेज ब्याग देख्न सकिन्छ । वैदेशिक रोजगारीको शिलशिलामा मृत्य भएर बाकसमा फर्किएकाहरूको कथा फिल्मले वाचन गर्ने पोष्टरमार्फत् प्रष्ट्याउन खोजिएको छ ।

‘आमा’ निर्मात्री शर्मिला पाण्डेको एकल लगानीमा निर्माण भएको चलचित्रमा अभिनेता अर्पण थापा पनि मुख्य भूमिकामा हुनुहुन्छ । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारको अभिनय छ । चलचित्रमा निर्देशन, कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के.खनालको रहेको छ ।