त्यही बिरानो मुलुकमा पसिनाको धारो
हाम्रो नि देश छ नि भन्दै, बगाउनु पारो
कसलाई थाछ परदेश गएर धनै कमाउँछ कि
बाकस भर्न गाको छोरो बाकसमै आउँछकी
सम्झे आँसु झर्छ
माथिको हृदयविदारक शब्दपंतिका गीतकार नारायण कँडेलका हुन् । कँडेले भर्खरैमात्र यथार्थपरक अनि वास्तविक कथामा सिर्जित यस्तै छ कहानी परदेशीको को भाग-४ को रूपमा ‘उतै जानुपर्छ’ नामक लोकगीत बजारमा लिएर आउनुभएको छ ।
बाग्लुङको बिहुँकोट करलिममा जन्मिनु भएका कँडेल आफू पनि विगत एक दशकदेखि जापानमा हुनुहुन्छ । आफ्नो देश छोडेर प्रदेशमा रगतलाई पसिना बनाएर बगाउनुपरेको बाध्यताका कथाहरूलाई कलात्मक र कारुणिक शब्दमा उतार्न सिद्धहस्त गीतकार कँडेलले यसपटक परदेशबाट घरदेश आएको मान्छे फेरि परदेश नलागी नहुने बाध्यकारी परिस्थितिलाई निकै शुन्दर र कारुणिक तरिकाले प्रस्तुत गर्नुभएको छ ।
गीतमा अत्यन्त पछिल्लो समय ‘हातैका पौजाले’, ‘सनिसा’ जस्ता चर्चित गीतका गायक तथा सर्जक कुशल बेलवासेको संगीत र आवाज रहेको छ भने श्रुतिसंवेग जस्तो देशकै लोकप्रिय रेडियो कार्यक्रमका प्रस्तोता अच्युत घिमिरे ‘बुलबुल’को आवाजमा रहेको भूमिका वाचनले झन् गीतलाई सुमधुर बनाएको छ ।
यस्तै पछिल्लो समयका भिन्न र निकै सिर्जनात्मक कथा र भिडियो परिकल्पना दिनसक्ने निर्देशक विनोद भण्डारीको निर्देशनमा विनोद भण्डारी र जुना गुरुङको उत्कृष्ट अभिनयले गीतलाई न्याय दिएको छ । विनोद बाजुरालीको संगीत संयोजन, नवराज उप्रेतिको छायांकन, प्रवीण भट्टको भिडियो सम्पादन रहेको यस गीतलाई नारायण कँडेलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।




















