काठमाडौं:= पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो ।
भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४४ बलमा ७ चौका प्रहार गर्नुभएको थियो ।
यस्तै विपिन रावल ४० रनमा अविजित रहनुभयो । ३४ बलमा उहाँले ३ चौका र एक छक्का प्रहार गर्नुभयो । त्यसबाहेक रिचर्ड लेभीले १४ र रित गौतमले ६ रन जोड्दा लोकेश बम शून्य रनमा आउट हुनुभएको थियो । भैरहवाका भुवन कार्कीले २ विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाउनुभयो । उहाँँले ३३ बल खेल्दै २ चौका र एक छक्का प्रहार गर्नुभएको थियो ।
त्यस्तै आरिफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्लले १ रन बनाउनुभयो । पोखराका किशोर महतो र सहन अर्चाचिगेले समान २–२ विकेट हात पार्नुभयो ।
यससँगै पोखरा पहिलोपटक इपिएलको फाइनलमा पुगेको हो । अब पोखराले फाइनलमा चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा पोखरा चितवनसँग नै पराजित भएको थियो । चितवन पनि पहिलोपटक फाइनल पुगेको हो । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउनेछन् ।




















