चितवन इपिएल क्रिकेट खेलको फाइनलमा।

काठमाडौं:= चितवन टाइगर्सले पोखरा राइनोजलाई नौ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन पहिलोपटक इपिएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले सात दशमलब पाँच ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो ।

चितवनको जितमा मोहमद साहजादले सर्वाधिक ४८ रन बनाउनुभयो । उहाँले २६ बलमा सात चौका र दुई छक्का प्रहार गर्नुभयो । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोड्नुभयो। करिम जनत चार रनमा अविजित रहनुभयो । बलिङतर्फ पोखराका नन्दन यादवले एक विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाउनुभयो । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाउनुभयो ।

त्यसैगरी लोकेश बम पाँच, सहन अर्चाचिगे तीन, विक्रम सोब तीन, विवेक यादव दुई, असेला गुनारत्ने एक रनमा आउट हुनुभयो । कप्तान विनोद भण्डारी र नन्दन यादव शून्य रनमा आउट हुँदा किशोर महतो एक रनमा अविजित रहनुभयो ।पोखरालाई सस्तैमा समेट्नेक्रममा चितवनका सागर ढकाल र शाहव आलमले चार÷चार विकेट लिनुभयो भने सोमपाल कामी र करिम जनतले एक÷एक विकेट झार्नुभयो । यस्तै भैरहवा ग्लाडियसर्टले बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको छ ।

अब भैरहवाले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ । भैरहवाले दिएको १८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा आठ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो । काठमाडौंका लागि असान प्रियन्जनले ६८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । त्यसबाहेक जनक प्रकाशले २८ रन, अमित श्रेष्ठले १९ रन र दिनेश अधिकारीले १५ तथा राजु रिजालले १० रन जोड्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४९ रनको योगदान गर्नुभयो । यस्तै प्रदिप ऐरीले ३९ रन र उपुल थरंगाले ३५ रन जोड्नुभयो । भैरहवा र पोखराबीचको दोस्रो क्वालिफायर बिहीबार हुनेछ । यस खेलको विजेता फाइनल पुग्नेछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउनेछन् ।