बडा दशैँ शुरु, आज घटस्थापना, घरघरमा जमरा राखिँदै।

काठमाडौं:= नेपालीहरूको महान् चाड बडा दशैँ बिहीबारबाट शुरु भएको छ । बडादशैँको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ–आफ्नो घरघरमा जमरा राख्ने गर्दछन् । आज सबैले आ–आफ्नो घरको पूजा कोठामा विधिपूर्वक घटस्थापना गर्छन् । त्यस्तै काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि धार्मिक विधिपूर्वक घटस्थापना गरिँदैछ ।

आज बिहान ११ः४६ बजे घटस्थापनाको शुभ साइत रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । आज चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजे ४६ मिनेट जानुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने जनाइएको छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धी पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट बालुवा या माटो ल्याई जमरा राखिन्छ ।

जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीको टीकाको दिन पहेंलो जमरासँगै दूर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्री देवी दुर्गाका नौ स्वरुपको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्यत्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुती पाठ गरिन्छ ।

यस अवसरमा देशभरका शक्तिपीठहरूमा पूजाआजाका लागि भक्तजनहरूको घुँइचो लाग्ने भए पनि कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै मन्दिरमा भक्तजनहरूका लागि दर्शनका लागि अनुरोध गरिएको छ ।