कोलकोता:= पश्चिम बंगाल राज्यमा भएको विधानसभा उपनिर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीले सानदार जित हासिल गर्नुभएको छ । प्रतिद्वन्द्वी भाजपाकी प्रियंका टिबरेवाललाई ५८ हजार बढी मतान्तरले पराजित गर्दै तृणमूल कंग्रेसकी नेतृ ममताले मुख्यमन्त्री पद सुरक्षित गर्नुभएको हो ।
ममताले ८४ हजार ७०९ मत प्राप्त गर्नुभयो । बीजेपी उम्मेदवार प्रियंकाले आफ्नो हार स्वीकार गर्दै ममतालाई जितका लागि बधाई दिनुभएको छ। कोलकाताको भवानीपुरसहित मुर्शिदावाद जिल्लाको शमशेरगञ्ज र जंगीपुर गरी तीन निर्वाचन निर्वाचन क्षेत्रमा बिहीबार मतदान भएको थियो । मतगणनामा शमशेरगञ्ज र जंगीपुरमा पनि तृणमूल कंग्रेसले अग्रता लिइरहेको छ।
मुख्यमन्त्री बनर्जी गत अप्रिलमा भएको विधानसभा चुनावमा नन्दीग्रामबाट भाजपा उम्मेदवार शुभेन्दु अधिकारीसँग झिनो मतअन्तरले पराजित भएपछि उहाँका लागि भवानीपुर खाली गरिएको थियो । भवानीपुरबाट निर्वाचित शोभनदेव चट्टोपाध्यायलाई राजीनामा गराएर ममताका लागि उपचुनाव गरिएको हो । उपचुनाव जितेसँगै बनर्जी मुख्यमन्त्री पदमा कायमै रहने पक्का भएको छ ।
यसअघि चुनाव हारे पनि ममताले ६ महिनाभित्र विधानसभा सदस्य बनिसक्नुपर्ने संवैधानिक प्रावधानअन्तर्गत मे महिनाको पहिलो साता मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । जसअन्तर्गत भवानीपुरबाट निर्वाचित हुनुभएको हो । यदि उहाँ चुनाव हारेको भए तृणमूल कंग्रेसले ममताको ठाउँको अर्को निर्वाचित विधानसभा सदस्यलाई मुख्यमन्त्री बनाउनु पर्ने थियो।
जितपछि मुख्यमन्त्री बनर्जीले कार्यकर्तालाई सम्बोधन गर्दै भवानीपुरमा केन्द्र सरकारले षडयन्त्र गर्न खोजेको टिप्पणी गर्नुभएको छ । सानो निर्वाचन क्षेत्रमा ३.५ हजार केन्द्रीय सुरक्षा फोर्स तैनाथ गरेको भन्दै यो आफूहरूविरुद्धको षड्यन्त्र भएको उहाँको भनाइ थियो । उहाँले नन्दीग्राममा पनि अनेक षड्यन्त्र भएको तर अदालतमा मुद्दा भएकाले अहिले केही नबोल्ने बताउनुभयो ।




















