अर्थमन्त्री जनार्दन शर्माद्वारा लघुवित्तको व्याजदर घटाउन आग्रह।

काठमाडौं:= अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गर्नुभएको छ । लघुवित्तले १० देखि १५ प्रतिशतसम्म व्याज लिँदै आएका छन् ।

आइतबार माइक्रो फाइनान्स एसोसिएसन अफ नेपालको मागपत्र बुझ्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । मन्त्री शर्माले गाउँगाउँसम्म पहुँच रहेका लघुवित्तले व्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने बताउनुभयो । लघुवित्तले तय गरेको व्याजदर घटाउन सरकारतर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

तर, प्रतिनिधिमण्डलले वाणिज्य बैंकबाट ऋण लिएर लघुवित्त सञ्चालन हुने गरेको भन्दै त्यसमा लाग्ने व्याजदर नघटेसम्म लघुवित्तको व्याज घटाउन सम्भव नहुने जनाएको छ । वाणिज्य बैंकले लगाउने व्याजदरभन्दा लघुवित्तले दुई प्रतिशतमात्र थपेर ऋण प्रवाह गर्ने गरेको एसोसिएसनका अध्यक्ष जगतबहादुर पोख्रेलले दाबी गर्नुभएको छ ।

राज्यले पूर्वाधार, ऊर्जा र कृषिका क्षेत्रमा जस्तै लघुवित्त कोष पनि खडा गर्नुपर्ने एसोसिएसनको माग छ । २०६४ सालको लघुवित्त नीतिले वर्तमानको समस्या सम्बोधन गर्न नसक्ने भन्दै नयाँ नीति बनाउन पनि माग गरेको छ ।

प्रतिनिधिमण्डलले पेश गरेको मागपत्रमा राष्ट्रिय लघुवित्त नीति, २०६४ मा व्यवस्था भएबमोजिमको कोषको स्थापना गर्नुपर्ने, लघुवित्तमा लाग्ने संस्थागत कर आधा घटाउनुपर्ने, समूह सदस्यको बचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने तथा संस्थामा आबद्घ व्यक्तिको जीवनरक्षा र जीविकोपार्जनको बिमा गर्ने र बिमा कम्पनीले पुनर्बिमा सेवा दिनुपर्ने मागहरू समावेश गरिएको छ ।

गत असारसम्म सबै जिल्ला समेट्ने गरी ७० लघुवित्त संस्था क्रियाशील रहेका छन् । जसमा राष्ट्रियस्तरका ४८, प्रदेश तथा स्थानीयस्तरका २२ रहेका छन् । लघुवित्त संस्थामा कुल ३९ अर्ब ९२ करोड बराबरको अर्ब बराबरको लगानी रहेको छ भने निक्षेप पुँजी एक खर्ब ३० अर्ब ४२ अर्बभन्दा बढी रहेको लघुवित्तले तीन खर्ब ६५ अर्ब ऋण लगानी गरेका छन् । जसको ८३.४ प्रतिशत ऋण बिनाधितोमा लगानी गरिएको एसोसिएसनले जनाएको छ ।