काठमाडौं:= आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लब सातांै ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि जित्न सफल हुनुभएको छ ।
उक्त जोडीले आफ्नै क्लबका सशिन डंगोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधि उचाल्नुभएको हो । पविन र सुरोजको जोडीले डंगोल र महर्जनको जोडीमाथि २१-१४, २१-१६ को जित निकाल्नुभएको हो । सो स्पर्धामा आयोजकका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी तथा ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडी तेस्रो हुनुभयो ।
विजेता खेलाडीहरूले नगद ६५ हजार, उपविजेताले नगद ४० हजार र तेस्रो हुने टोलीले नगद २०/२० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नुभयो । ललितपुर बालकुमारीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको भेट्रान्स ४५ वर्षमाथिको प्रतिस्पर्धामा फ्रेन्डसिप ब्याडमिन्टन क्लबका शम्भु महर्जन र राजकुमार राजकर्णिकारको जोडीले बाजी मा¥यो ।
उक्त जोडीले सनराइज ब्याडमिन्टन क्लबका दीपक राना र टीका थापाको जोडीलाई १३-२१, २१-१६, २१-१४ ले पराजित गर्दै जितलाई आफ्नो नाममा लेखाउनुभयो । श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सिताराम श्रेष्ठको जोडी तथा इमाडोल ब्याडमिन्टन स्पोटर््सका तिलक बुढाथोकी र दिलबहादुर कदङ्वाको जोडीले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।
विजयी टिमले नगद ३० हजार, उपविजयी टिमले नगद २० हजार र तृतीय टिम प्रत्येकले नगद १०/१० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । विजयी खेलाडीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभयो ।




















