एमालेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित, ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्यो।

काठमाडौं:= तीनवटै विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै नेकपा एमालेको विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । यसैगरी, भेलाले आगामी मंसिरमा पार्टीको १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणासमेत गरेको छ । प्रथम विधान महाधिवेशनको समापन सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गर्नुभएको हो । समापनमा अध्यक्ष ओलीले ‘एमाले एकता अमर रहोस्, अमर शहीद लाल सलाम, नेकपा एमाले जिन्दावाद !’, भन्ने नारा लगाउनुभएको थियो ।

राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीनवटै प्रस्ताव पारित गर्न हललाई आग्रह गर्नुभएको थियो । हलले सर्वसम्मत रूपमा ती प्रस्ताव पास गरेको हो । एमालेको विधान महाधिवेशन नीति निर्माणका लागि भएको थियो । तर, यो महाधिवेशनमा माधव नेपाललाई छाडेर आएका घनश्याम भुसाल र भीम रावलसहितका नेताहरूले लिखित रूपमा फरक मत भने राख्नुभएन । उहाँहरूले असन्तुष्टि व्यक्त गरे पनि लिखित रूपमा फरक मत नराखेपछि तीनवटा मात्रै प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह गठन गरिएको थियो । उनीहरूले उठाएका प्रश्नहरूमाथि ओली, पोखरेल र पौडेलले सम्बोधन गर्नुभएको थियो । जवाफपछि ती प्रतिवेदनहरू सर्वसम्मत ढंगबाट पारित भएको हो । त्यसक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्ने गरी पार्टी काममा लाग्न निर्देशन दिनुभयो । विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र शानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले महाधिवेशनका काम कर्तव्य पूरा भएको भन्दै आन्दोलनलाई बलियो बनाउन नयाँ अठोट र संकल्पका साथ अघि बढ्न बाटो खुलेको बताउनुभयो ।

पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुलेको छ । एमालेले जारी विधान महाधिवेशनबाट ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरेसँगै ओली अध्यक्ष बन्ने बाटो खुलेको हो ।

विधानमा एउटा कार्यकारी पदमा एक व्यक्ति दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेरहद कायम रहने व्यवस्था गरिएको छ । तर, उमेरहदको व्याख्या ओली अनुकूल रहेको छ । अहिले ओली ७० वर्षमा हुनुहुन्छ । आगामी फागुनभित्रमा महाधिवेशन भएमा ओली पुनः अध्यक्ष बन्नुहुनेछ । र, उहाँले पूरै कार्यकाल पार्टीको अध्यक्षता गर्नुहुनेछ । एमाले उपमहासचिव विष्णु पौडेलका अनुसार ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र बीचमा वर्ष पूरा भएमा पनि कार्यकाल पूरै जिम्मेवारीमा रहने व्यवस्था गरिएको छ । अहिले ७० वर्षमा रहनुभएका ओलीलाई फागुन भित्रमा महाधिवेशन भएमा एक कार्यकाल अध्यक्ष बन्नबाट कसैले पनि रोक्न सकिने देखिन्न ।

ललितपुरको गोदावरीमा तीन दिनदेखि सम्पन्न विधान महाधिवेशनमा प्रतिनिधिहरूले दुईपटक मात्र उम्मेदवार हुन पाउने वा ७० वर्ष उमेरहद मात्रै राख्न माग गरेका थिए । तर, एमालेले दुवै व्यवस्था कायम गरेको हो । यो व्यवस्था पार्टीको अध्यक्षका हकमा मात्रै लागू हुने छैन । अन्य कमिटीहरूमा सोहीअनुसार काम कारबाही हुनेछ । उपमहासचिव पौडेलले भन्नुभयो, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्छ । कमरेडहरूले बुझ्नुभयो होला ।’

एमालेको विधानमा गरिएको ७० वर्ष उमेरहदको नयाँ परिभाषाले अब ओली अध्यक्षको उम्मेदवार हुनुहुन्छ । उहाँ निर्वाचित भएको खण्डमा अर्को पाँच वर्ष एमाले अध्यक्षको हैसियतमा क्रियाशील रहनुहुनेछ । नेताहरूका अनुसार एमालेको सातौं महाधिवेशनमा उमेरहदबारे बहस सुरु भएको थियो । आठौंमा अधिकतम उमेरहद तोक्ने सहमति जुटेको थियो । तर, सहाना प्रधानका लागि मात्र लागू हुने देखिएपछि अन्तिम समयमा फिर्ता लिइएको थियो । एमालेले नवौं महाधिवेशनबाट ७० वर्ष उमेरहद तोकेको थियो । त्यतिबेला यो प्रावधान लागू भएपछि दुई नेताहरू भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिनुभएको थियो ।

पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्छु : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताउनुभएको छ । विधान महाधिवेशनमा प्रतिनिधिहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष ओलीले पार्टीलाई सुदृढ बनाएर नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बहुमतमा पु¥याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पु¥याएर छोड्ने हो ।’ उहाँले पार्टीमा अगुवा र प्रिय साथीका रूपमा आफूमाथि देखाएको विश्वासमा एक इञ्च पनि तलमाथि हुन नदिने बताउनुभयो ।

उहाँले अहिलेको सरकार बेहाल अवस्थामा रहेको बताउनुभयो । ‘अहिलेको सरकार बेहाल अवस्थाको छ । नेपाली आकाशमा विदेशी हेलिकोप्टर घुम्छन् हो कि होइन भन्न सक्दैनन् । तुइन सन्दर्भमा रिपोर्ट लुकाउँछन् । दक्षिणतर्फ फर्केर पनि बोल्न सक्दैन । अरूलाई अरूको धन्दा यो सरकारलाई खानाको धन्दा ।’ उहाँले यो सरकारले मेलम्चीको पानी आगामी वैशाखसम्म नल्याउने ठोकुवा गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो सरकार ढाल्न सारा दुनियाँ लागिपरेको तर आफूहरू नझुकेको बताउनुभयो । अध्यक्ष ओलीले समयक्रमअनुसार जनताको बहुदलीय जनवाद परिमार्जन हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवाद जडसूत्र होइन । कार्यान्वयनका क्रममा परिमार्जन हुँदै जान्छ । २८ वर्षमा केही पनि नफेर्ने भन्ने पनि तर्क हुँदैन । सामाजिक परिवर्तनको आवश्यकतासँग जोडिएको छ ।’

ओलीले यतिबेला एमालेमाथि चौतर्फी हमला भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । वैचारिक हमला त्यत्तिकै भएको छ । संगठनमाथि पनि हमला भएको छ । एमालेको महाधिवेशनमा ब्यानर देखियो रे, तामझाम देखियो रे भनेर छाती पिट्छन् विरोधीहरू । हामी व्यक्तिपूजक र मूर्तिपूजक होइनौँ । हामीले कमिटी प्रणाली, सामूहिक नेतृत्वमा विश्वास गर्छौं । कसैले चक्र चलाएर नेपाल जितिने होइन ।’

उहाँले माधव नेपालप्रति इंगित गर्दै स्वार्थलाई केन्द्रमा राखे फुट्ने प्रवृत्ति अहिले पनि जारी रहेको बताउनुभयो । उहाँले आफू र पार्टीमाथि दुई कारणले विरोध हुने गरेको बताउनुभयो । उहाँले संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई पार्टीबाट परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

पहिलोपटक वरिष्ठ उपाध्यक्षको व्यवस्था, यस्तो बन्नेछ संरचना

नेकपा एमालेले पार्टीमा पहिलोपटक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको छ । विधान संशोधन प्रस्तावमाथि समूहगत रूपमा उठेको सुझावको जवाफमा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले १५ जना पदाधिकारीको व्यवस्था भएको बताउनुभयो । उहाँका अनुसार एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, चार जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव र सातजना सचिवको व्यवस्था गरिएको छ । यसअघि विधान संशोधन प्रस्ताव पेश गर्दै एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ जना सचिव गरी १२ जना पदाधिकारी रहने व्यवस्थासहितको प्रस्ताव गरिएको थियो । एमालेमा २२५ जनाको केन्द्रीय कमिटी रहने विधान संशोधनमा गरिएको छ । यस्तै, महानगरपालिकामा १०१ नगरकमिटी, उपमहानगपालिकामा ८५, नगरपालिका र गाउँपालिकामा ७५ कमिटी रहने उहाँले जानकारी दिनुभयो ।

उहाँले सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने बताउनुभयो । त्यस्तै, लेखापरीक्षण आयोगको नाम लेखा आयोग भएको छ । यसैगरी, एमालेको टोलदेखि केन्द्रसम्मका कमिटीमा रहने सदस्यहरूको संख्या निर्धारण गरिएको छ । जसअनुसार २२५ जना केन्द्रीय सदस्य रहने व्यवस्था गएिको छ । यसैगरी, प्रदेश कमिटीमा ५० जनाको संख्यालाई आधार मानेर हरेक निर्वाचन क्षेत्रबाट पाँच÷पाँचजना थप हुने व्यवस्था गरिएको छ । उपत्यका प्रदेशको हकमा ५० जना आधार संख्या भए पनि प्रत्येक शाखाबाट पाँचजना थप हुनेछन् ।

यसैगरी, जिल्ला र पालिका कमिटीमा पनि आधार संख्या ५० जना नै मानिएको छ । जिल्लाको हकमा प्रदेश निर्वाचन क्षेत्रबाट १५ जना पालिकाको हकमा वडाबाट पाँचजना थप हुने व्यवस्था गरिएको छ । यसैगरी, वडाहरूको हकमा महानगरमा १०१ जना, उपमहानगरमा ८५ जना र नगरपालिका÷गाउँपालिकामा ७५ सदस्य रहेको कमिटी बनाउने व्यवस्था गरिएको छ । टोल कमिटीमा बढीमा ३१ सदस्यीय हुनेछन् । सबै कमिटीले कमिटीको एक चौथाइ संख्या नबढ्ने गरी सचिवालय बनाइने भएको छ ।

परिवर्तन भयो लोगो

एमालेले आफ्नो पार्टीको लोगो पनि परिवर्तन गरेको छ । महाधिवेशनमा अध्यक्ष ओलीले पार्टीको नयाँ लोगो र मोबाइल एप सार्वजनिक गर्नुभयो । यसअघि सूर्य चिन्हको बीचमा सिपिएन युएमएल लेखेर हँसिया हथौडा रहेको लोगोलाई परिवर्तन गरिएको हो । नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा रहने गरी डिजाइन गरिएको छ ।

यसैगरी, मोबाइल एपबाट पार्टीको सदस्यता लिने र सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ । नवीकरणका लागि पार्टीले तोकेको शुल्क बुझाउनुपर्ने छ । र, पार्टीको निर्णय र अपानिहरू एपमार्फत सबै कार्यकर्तालाई एकसाथ दिइनेछ भने एपमा पार्टीका सबै कमिटी, जनवर्गीय संगठनको प्रोफाइल हुनेछ ।

निर्वाचन आयोग घोषणा

नेकपा एमालेले केन्द्रीय निर्वाचन आयोग घोषणा गरेको छ । पार्टीको महाधिवेशनलाई केन्द्रमा राखेर एमालेले डा. विजय सुब्बाको नेतृत्वमा आयोग घोषणा गरेको हो । अध्यक्ष ओलीले १५ सदस्यीय आयोग बनाउने प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्ताव पारित गरिएको हो । आयोगको सदस्यहरूमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी र पवित्रा निरौला रहनुभएको छ । यस्तै, सुदूरपश्चिमबाट केवालाल चौधरी, लुम्बिनीबाट विमला विश्वकर्मा, गण्डकीबाट लोकबहादुर थापा र बागमतीबाट हिमकला गैरे आयोगको सदस्य हुनुहुन्छ ।

यसैगरी, विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन पारित भएका छन् । आइतबार महाधिवेशनको पूर्णसत्रले शुक्रबार प्रस्तुत प्रतिवेदनहरू पारित गरेको हो । यसअघि शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह गठन गरिएको थियो । समूहगत रूपमा उठेका प्रश्नहरूमाथि ओली, पोखरेल र पौडेलले जवाफ दिनुभएको थियो । त्यसपछि पारित गरिएको हो ।