डडेलधुरामा कांग्रेसको बृहत् कार्यकर्ता भेलामा झडप।

डडेलधुरा:= डडेल्धुरामा कांग्रेसको बृहत् कार्यकर्ता भेलामा झडप भएको छ । आइतबार दिउँसो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो । झडपमा आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन् ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे सहभागी कार्यक्रममा झडप भएको हो । भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले कालो झण्डा देखाउन खोज्दा झडप भएको हो । झडपपछि पनि कार्यक्रम भने जारी रहेको थियो

११ दिनदेखि जारी अनशन स्थगित

पुनः वडा अधिवेशन गराउन माग गर्दै अनशनरत नेता कार्यकर्ताले अनशन स्थगित गरेका छन् । केन्द्रीय सदस्य शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरेसहितको टोलीले डडेल्धुरा पुगेर अनशन तत्कालका लागि स्थगित गराएको हो । देउवा पक्षले क्रियाशील सदस्यताको विवादबीच वडा अधिवेशन गराएपछि सभापति कर्णबहादुर मल्लसहितले बहिष्कार गरेर ११ दिनदेखि रिले अनशन गरिरहनुभएको थियो।

कार्यवाहक सभापति करुणाकर भट्टसहित नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा रिले अनशन गर्दै आएको अनशन आइतबार स्थगित भएको हो । केन्द्रीय नेताहरूले देउवाको गृहजिल्ला पुगेर अनशन तोडाउँदै पार्टीभित्रको बेथितिविरुद्ध केन्द्रीयस्तरमै समाधान हुने आश्वासन दिएपछि अनशन स्थगित भएको हो ।

डडेल्धुरामा २५ भदौमा देउवा पक्षले वडा अधिवेशन गराएको थियो । तर, जिल्ला सभापति मल्लले भने जिल्लाबाट विधानबमोजिम सिफारिस गरी पठाएका ४६० जना क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट नयाँ सदस्य थप गरिएको भन्दै वडा अधिवेशन बहिष्कार गर्नुभएको थियो ।

आन्तरिक लोकतन्त्र संकटमा परेको छ : कोइराला

कांग्रेस नेता शेखर कोइरालाले आसन्न महाधिवेशनबाट कांग्रेसले लोकतन्त्र बचाउन सक्ने नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । क्रियाशील सदस्यताको विवाद र कार्यकर्ताको अनशनबारे बुझ्न डडेल्धुरा पुग्नुभएका कोइरालाले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसमा आन्तरिक लोकतन्त्र नै संकटमा परेको बताउनुभएको हो ।

उहाँले आसन्न महाधिवेशनले कांग्रेस र लोकतन्त्रलाई बलियो पार्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । ‘लोकतन्त्रमा विधि र विधानलाई टेकेर न्याय संगत हिसाबले हिँड्न सक्नुपर्छ । तब मात्रै लोकतन्त्र फस्टाउँछ । अहिले कांग्रेसमा आन्तरिक लोकतन्त्र छैनको बराबर छ,’ उहाँले भन्नुभयो, ‘१४औं महाधिवेशनबाट कस्तो कांग्रेस बनाउने हो ? कस्तो नेतृत्व छान्ने हो ? त्यसको निर्णय तपाईंहरूले गर्ने हो । कार्यकर्ताले गर्ने हो । त्यसमा अलिकति पनि चुक्यो भने कांग्रेस थप कमजोर भएर जान्छ ।

त्यसकारण यो महाधिवेशन कांग्रेस र लोकतन्त्रका लागि महत्वपूर्ण छ ।’ सभालाई पूर्व-सहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायतले सम्बोधन गर्नुभएको थियो । नेता कोइरालालाई मञ्चमा सम्बोधन गर्दा गर्दै देउवा पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । देउवा पक्षले कार्यक्रममा अवरोध गर्न खोजेपछि केहीबेर स्थिति तनावग्रस्त भएको थियो ।