एनआरएनए चुनावमा समन्वय गर्न कांग्रेसमा आठ नेतालाई जिम्मेवारी।

काठमाडौं:= नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न १०औँ महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि आठ नेतालाई जिम्मेवारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार युरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगन थापालाई जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयले जनाएको छ । एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । एनआरएनएको १०औँ महाधिवेशन यही अक्टोबर २३-२५ मा हुँदै छ ।  कांग्रेसले यसअघि नै संघको निर्वाचनमा लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ ।